पुरानाे विद्युत्गृह बेवारिसे

    43

    स्याङ्जाको सबैभन्दा जेठो सेतीखोला विद्युत् उत्पादन गृह बेवारिसे बनेको छ । अन्य क्षेत्रमा मैनबत्ती र टुकीको उज्यालोमा बस्ने बेलामा साविक सेतीदोभानलगायत सदरमुकाम वरपर भने बिजुलीबत्तीको पहुँच थियो । झण्डै १० वर्ष विद्युत् उत्पादन भएको सेतीखोला विद्युत् उत्पादन गृहको करोडौंका साम्रगी उपयोगविहीन बनेका छन् ।

    जलाशयको भाग हाल भलिबल र फुटबल खेल्ने चौर बनेको छ । केही वर्षअघि जलाशयमा धान पनि रोपिएको थियो । तर, आजकल जन श्रमदान नपाइने भएका कारण खेल मैदान बनेको हो । स्याङ्जा सदरमुकामलगायत, नाउँडाँडा, बाँडखोला, प्रगतिनगर, स्याङ्जा बजार र सेतीदोभान बजारलगायत दर्जनौं गाउँका लागि चोबीसै घण्टा विद्युत् आपूर्ति हुने गरी ८० किलोवाट उत्पादन क्षमताको सेतीखोला जलविद्युत् योजना बन्द भएपछि खण्डहर, घाँसे झाडी र खेल मैदानमा परिणत भएको छ ।

    साविक सेतीदोभान गाविसमा सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा ०३५ सालमा स्याङ्जा विद्युत् आयोजनाका नाउँमा तत्कालीन जल तथा विद्युत् राज्यमन्त्री डीबी अधिकारीले शिलान्यास गरेका थिए । ०४१ सालमा तत्कालीन राजा वीरेन्द्रले आयोजना उद्घाटन गरेका हुन् । तर ५० को दशकमा ५.१ मेगावाट क्षमताको आँधीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् आपूर्ति हुन थालेपछि चल्दाचल्दैको सेतीखोला जलविद्युत् केन्द्र बिनाकारण बन्द हुन पुगेको स्थानीयको भनाइ छ । सेतीदोभान हाल आँधीखोला गाउँपालिकाअन्तर्गत पर्छ ।

    गृह नजिकै बगेको सेतीखोलाको पानीलाई करिब २ किलोमिटर लामो नहरबाट सेतीदोभानस्थित विद्युत् गृहमा पु¥याई विद्युत् उत्पादन गरिएको थियो । झण्डै ५५ रोपनी क्षेत्रफल ओगटेको सो योजनाअन्तर्गत जलाशय, विद्युत्गृह, आवास क्षेत्रलगायत संरचना सबै बिग्रिएका छन् । ससाना उठाउन र झिक्न मिल्ने खालका सामग्री एउटा पनि राखिएका छैनन् । ठुल्ठूला सामग्री भने त्यहीँ छन् । जलाशय भाग, जलाशयबाट पानी झर्ने फलामे पाइप र विद्युत्गृहभित्रको एक÷दुई मेसिनबाहेक अब केही बाँकी रहेका छैनन् । विद्युत्गृह वरपर रहेका कर्मचारी आवास भवनहरू पनि भत्किएका छन् । केही वर्ष पहिले त इलाका वन कार्यालयलगायतका केही कार्यालय पनि त्यहीँ राखिएका थिए ।

    अत्याधुनिक सुविधासम्पन्न संरचना पुनः निर्माणगरी सेतीखोलाको पानीबाट बिजुली निकाल्ने भन्दै तत्कालीन जिल्ला विकास समितिले गौरवका योजनामा पनि समावेश गरेको थियो । तर त्यसतर्फ कसैले ध्यान नदिँदा योजना ज्यूँ का त्यूँ नै रहिरह्यो । सेतीखोला गोैरवका योजना कागजमै सीमित बन्यो ।

    विद्युत्गृह पुनः सञ्चालनका लागि केही निजी क्षेत्रका व्यक्तिले चासो बढाएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बताए । ‘जलविद्युत् उत्पादनका लागि पहल एवं विषयविज्ञहरूसँग छलफल भइरहेको छ, उहाँहरूको सल्लाह र सुझावबमोजिम हामी अघि बढ्नेछौं’, अध्यक्ष पौडेलले भने, ‘उपयुक्त रायसहित सबैको साथ र सहयोग पाए आफ्नै गाउँपालिकामा उत्पादित बिजुलीबाटै आर्थिक समृद्धिमा जुट्नेछौं ।’

    स्याङ्जाबासी लोडसेडिङमुक्त त छन् । तर आफ्नै घर आँगनमा सञ्चालित जिल्लाकै जेठो विद्युत्गृह बन्द हुँदा स्थानीय दुःखी छन् । सञ्चालन हुँदाहुँदै बेवास्ताका कारण बन्द भएकोमा चिन्ता व्यक्त गर्छन् स्थानीय ७९ बर्से नारायणप्रसाद पोखरेल । ‘त्यसबेला गाउँघरमा चहलपहल थियो । धेरै विकास भएका थिए । गाँउघरका देखिने झिलीमिली बत्तीले निकै रमाइलो बनाउथ्यो, तर अहिले यहाँ सुनसान छ’, पोखरेलले भने, ‘त्यसबेलाका चम्किला र नौला भवन अहिले खण्डहर बने, सरकारी सम्पत्ति प्रयोगविहीन र नोक्सान हुँदै गयो ।’

    विद्युत् योजनाका लागि आवश्यक भवन, जग्गा जमिन, जलाशय, नहरको सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिने स्थानीय जानकार बताउँछन् । केही ठूला मेसिन अझै पनि सुरक्षित रहेको र योजना सञ्चालनपछि बिजुली उत्पादनका साथै सिँचाइको पनि राम्रो सुविधा पुग्ने हँुदा विद्युत् उत्पादनमा पहल गर्नुपर्ने स्थानीय टीकाराम रेग्मी भन्छन् ।

    योजनाका केही यान्त्रिक उपकरण अन्य जिल्लामा लगिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको करोडांै मूल्यबराबरको भौतिक सम्पत्ति संरक्षण गर्न नेपाल विद्युत् प्राधिकरणले कर्मचारीलाई समेत कुरुवा राखेको थियो ।

    • अन्नपुर्ण