‘नेपालको जलविद्युत् यस क्षेत्रकै परिपूरक’

    1090
    • छिमेकी देशहरूको सोलार र वायुको परिपूरक जलविद्युत्
    • चीनसँग दुई नाकाबाट प्रसारण लाइन
    • एनभीभीएनले नेपालको विद्युत्को बजार खोज्ने

    काठमाडौं । पछिल्लो समय दक्षिण एशियाका साथै चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि सौर्य तथा वायु ऊर्जा उत्पादनको क्रम बढ्दो छ । पानीको स्रोतको कमी तथा सौर्य र वायू ऊर्जा उत्पादन सस्तो पर्नुले उक्त ऊर्जा उत्पादनमा जोड बढ्दै गएको हो । तर, प्रणालीको विश्वसनीयताका लागि सौर्य र वायु ऊर्जालाई परिपूरण गर्ने स्वच्छ ऊर्जा भनेको जलविद्युत् नै हो ।

    यही विशेषताका कारण नेपालको जलविद्युत् यस क्षेत्रकै लागि परिपूरक बन्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । शुक्रवार नेपाल इञ्जिनीयर्स एशोसिएशनको संवाद कार्यक्रममा घिसिङले भने, ‘सोलार र विण्डको भरमा प्रणाली विश्वसनीय हुँदैन, जसको परिपूरण गर्ने अन्य स्रोत कोइला र डिजेलले वातावरणमा पार्ने असरका कारण तिनको सम्भावना छैन । त्यसैले एकमात्र विकल्पमा रहेको जलविद्युत् हामीले जति उत्पादन गर्नसक्यौं त्यति यस क्षेत्रकै सिष्टमका लागि उपयोगी हुन्छ ।’

    विश्वमै विश्वसनीय विद्युत्का लागि अन्तरदेशीय विद्युत् सञ्जालले काम गरिरहेको उल्लेख गर्दै नेपाल र चीनबीच प्रणाली जोडिने बित्तिकै यो क्षेत्र नै एउटै प्रणालीमा आउने उनले बताए । हाल नेपाल र चीनबीच केरुङ नाकाबाट अन्तरदेशीय प्रसारण लाइन जोड्ने तयारी भइरहेको छ । यसपछि किमाथाङ्का नाकाबाट पनि अर्को लाइन जोड्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

    विद्युत् विक्रीका बाटाहरू
    बङ्गलादेशलाई विद्युत् उत्पादनभन्दा आयात सस्तो पर्ने कारणले नेपालले ठूलो परिमाणमा बङ्गलादेशलाई विद्युत् बेच्न सक्ने घिसिङको दाबी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बङ्गलादेश गएका बेला सन् २०४० सम्ममा बङ्गलादेशले नेपालबाट ९ हजार मेगावाट (मेवा) विद्युत् खरीद गर्ने योजना सुनाएको थियो ।
    नेपाल–बङ्गलादेशबीच ऊर्जा सहकार्य समझदारी (एमओयू) पनि सम्पन्न भइसकेको छ । भारतको जीएमआर कम्पनीले विकास गर्ने माथिल्लो कर्णाली जलविदुत् आयोजना (९०० मेवा)को ५ सय मेवा विद्युत् बङ्गलादेशले खरीद गर्ने तय पनि भइसकेको छ ।

    भारतको एक कम्पनीमार्फत नेपालको विद्युत् व्यापारको बजार खोज्ने प्रयत्न भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘अबको ७ वर्षभित्र १ हजार ५ सयदेखि १ हजार ७ सय मेगावाटसम्म विद्युत् भारत वा बङ्गलादेशमा भारतको नोडल एजेन्सी एनभीभीएनले विक्री गर्नेगरी एमओयू गर्न लागेका छौं,’ घिसिङले भने, ‘यसले पनि हाम्रो विद्युत्को बजारको खोजीमा भूमिका खेल्नेछ ।’

    त्यसैगरी, गर्मीमा भारतको विद्युत् माग उच्च हुने र जाडोमा नेपालको माग उच्च हुने अवस्थालाई संयोजन गरी अन्तरदेशीय विद्युत् बैङ्किङको योजना अघि बढाइएको उनले बताए ।

    अबको लक्ष्य
    कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले देश अब विद्युत् वितरण प्रणाली सुदृढिकरण, विद्युत् व्यवस्थापन तथा विद्युतीय साधनको प्रयोगपट्टि लक्षित हुनुपर्ने बताए । वितरण सुदृढिकरणका लागि स्मार्ट ग्रीडको अभियान अघि बढाउनुका साथै ४० लाख ओटा मिटर (स्मार्ट) परिवर्तन थालिसकेको जानकारी दिए ।

    सहस्राब्दी विकास लक्ष्यअनुरूप नेपालले सन् २०३० सम्ममा सस्तो तथा विश्वसनीय आधुनिक ऊर्जाको पहुँच देशभरि नै पु¥याउनु पर्छ, जसको पूर्वतयारीस्वरूप आगामी ५ वर्षमा नेपालले देशभरी नै विद्युत्को पहुँच पुर्‍याउने घिसिङले दाबी गरे ।

    देशभित्रै ब्याट्रीमा विद्युत् बैङ्किङ्को पनि सम्भावना रहेको उनको भनाइ छ । प्रति किलोमिटर सवारी साधनको गुडाइमा रू. ७ को पेट्रोलियम खपत हुनेमा रू. २ मात्रैको विद्युत्ले पुग्ने उनले हिसाब देखाए । यसले गर्दा नेपाल विद्युतीय सवारीसाधनको प्रयोगतर्फ अघि बढ्नुपर्ने उनको धारणा छ । तर, तत्कालै भने एकैपटक धेरै विद्युतीय सवारीसाधन आए चार्जिङ स्टेशनहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराउन नसकिने बाध्यता व्यक्त पनि गरे ।

    स्रोत:अभियान