त्रिशुली जलविद्युत केन्द्रमा भीषण आगलागी

2493

पुस १९, २०७५ – नुवाकोट

नुवाकोटको त्रिशुली जलविद्युत केन्द्रमा भीषण आगलागी भएको छ । गएराती लागेको आगलागीका कारण १ करोड रुपैयाँ बढीको क्षति भएको अनुमान गरिएको छ । साँझ साढे ६ बजे सुरु भएको आगो झण्डै २ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । २१ मेगावाट क्षमताको सो जलबिद्युत केन्द्रमा लागेको आगलागीका कारण रसुवाको तल्लो भाग, नुवाकोट र धादिङमा बिद्युत सेवा बन्द भएको सहकर्मी कृष्ण थापाले जनाएका छन् । आगलागीपछि २१ मेगावाट क्षमताको त्रिशुली र १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित विद्युत कटौती भएको हो । दुबै उत्पादन एउटै राष्ट्रिय प्रशारण लाईनमा जोडिएकाले विद्युत सेवा अवरुद्ध भएको आयोजनाले जनाएको छ । सो आयोजनामा यसअघि पनि ३ पटक आगलागी भईसकेको छ ।

आगलागीका कारण उत्पादन केन्द्रका मेसिनमा ठुलो क्षति पुगेकाले सञ्चालनमा आउन केही समय लाग्ने आयोजना केन्द्रलाई उदृत गर्दै थापाले बताउनुभयो । आयोजना प्रमुख तारादत्त भट्ट राजधानीमा रहेकाले उहाँ फर्केपछि मात्र सम्पुर्ण विवरण सार्वजनिक हुने केन्द्रले जनाएको छ ।

स्रोत:कान्तिपुर