एचआईडीसीएलले जलविद्युतमा लगानी गर्न नसकेको स्वीकार्यो, बैंकको ब्याजदर घट्दा नाफामा असर

1167

काठमाडौं । सरकार स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले जलविद्युत आयोजनाहरुमा लगानी गर्न नसकेको स्वीकार गरेको छ । कम्पनीले ऋण सम्झौता भएका जलविद्युत आयोजनाहरुको लक्ष्यअनुसार भौतिक प्रगति नहुँदा प्रतिबद्धता गरेअनुसार लगानी हुन नसकेको स्वीकार गरेको हो ।

एचआईडीसीएलले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको वित्तीय विवरणमा कच्चा पदार्थ र जनशक्तिको अभाव भएको जानकारी दिएको छ । यस्तै कोरोना महामारी र विदेशी विनिमय जोखिमले आयोजनाको लागत बढ्नुका साथै निर्माण अवधि लम्बिने अवस्था आएको जानकारी गराएको छ । यसैगरी प्रसारण लाइन समयमै निर्माण नहुँदा आयोजनाहरुबाट उत्पादन हुने बिजुली बिक्री नहुने जोखिम बढेको उसले आफ्नो वित्तीय प्रतिवेदनमा उल्लेख गरेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीले हालसम्म ३ अर्ब ८६ करोड ६८ लाख रुपैयाँ विभिन्न जलविद्युत आयोजनाहरुमा सहवित्तीयकरणमा लगानी गरेको जानकारी दिएको छ । यस्तै १ अर्ब २० करोड रुपैयाँ ऋण लगानीको तयारीमा भए पनि प्रवाह हुन नसकेको कम्पनीको भनाइ छ । कर्पोरेट बण्डमा कम्पनीले ८ करोड रुपैयाँ लगानी गरेको छ ।

सहायक कम्पनीहरुमा ७० करोड ६२ लाख रुपैयाँ लगानी भएको एचआईडीसीएलले जनाएको छ । उसले सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडमा ३५ करोड ५० लाख र सिम्बुवा रेमिट हाइड्रो लिमिटेडमा ३५ करोड १२ लाख रुपैयाँ सेयर लगानी भएको जानकारी दिएको छ ।

यसैगरी ब्याजदर घटेपछि कम्पनीको नाफामा असर परेको छ । कोरोना महामारीले कर्जाको माग कम भएपछि बैंकहरुमा अधिक तरलता छ । अधिक तरलता भएपछि बैंकहरुले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । बैंकको ब्याजदर घटेपछि मुद्दती निक्षेपबाट हुने ब्याज आम्दानी २०.७४ प्रतिशत घटेको छ । यसले गर्दा एचआईडीसीएलको नाफामा गिरावट आएको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

एचआईडीसीएलको मुख्य आम्दानी बैंकबाट प्राप्त हुने ब्याज हो । जसअनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एचआईडीसीएलले ६७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ८५ करोड ६७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीको ब्याज आम्दानी १७ करोड ७७ लाख रुपैयाँ घटेको छ । ब्याज आम्दानीमा भारी गिरावट आएपछि चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा घटेर ४२ करोड ८३ लाख रुपैयाँमा सीमिति भएको कम्पनीले जनाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको ५५ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले १ करोड ७ लाख रुपैयाँ लाभांश आम्दानी गरेको छ ।

कम्पनीको नाफा बैंकको ब्याज आम्दानीले धानेको छ । हाल चुक्तापुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जसमा ८० प्रतिशत सरकार र बाँकी २० प्रतिशत सर्वसाधारणको लगानी छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ छ ।

 

स्रोत : क्यापिटल नेपाल