घारखोला जलविद्युत निर्माणले गति लियो

    1321

    बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माणले गति लिएको छ। म्याग्दी हाईड्रोपावर कम्पनी प्रर्वद्धक रहेको आयोजनाको सुरुङ, बाँध, बालुवा थिग्राउने पोखरी लगायतका संरचना निर्माणले तिव्रता पाएको हो। तीन किलोमिटरमध्ये हालसम्म बाँधतर्फबाट तीन सय मिटर सुरुङ निर्माण भइसकेको छ।

    आउटलेटतर्फबाट असोज महिनादेखि सुरुङ निर्माण सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ घारको सिमा क्षेत्रमा अबस्थित कुरिलाबगरमा बाँध निर्माणका लागि जग खन्न सुरु गरिएको छ। बालुवा थिग्राउने पोखरीको जग खनिसकिएको र पूर्वाधार निर्माणको काम तिव्र रुपमा अघि बढेको आयोजनाका इञ्जिनियर जोसेभ श्रेष्ठले बताए।

    सामाजिक सहयोग कार्यक्रमको बजेटका विषयमा शिख र घारका बासिन्दाको मागको विषयमा सहमति बनेपछि आयोजना निर्माणका लागि समुदायस्तरमा पनि सहज वातावरण बनेको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए। आयोजनाका प्रबन्ध निर्देशक अर्जुन पौडेलले सामाजिक सहयोग कार्यक्रममा कूल लागतको ०.७५ प्रतिशत खर्च गर्नुपर्ने नीतिगत व्यवस्थाअनुसार एक करोड ८० लाख रुपैयाँ प्रभावित क्षेत्रको सामाजिक क्षेत्रमा सहयोग गरिने जानकारी दिए। प्रभावितलाई लगानीको अवसर पनि दिएको पौडेलले बताए।

    वि.सं २०७४ चैत महिनादेखि पूर्वाधार निर्माण सुरु गरेको थियो।  घारको बिरौटादेखि बाँध स्थलसम्म पुहँचमार्ग निर्माण गरिसकेको आयोजनाले सुरक्षाकर्मी, कर्मचारी र मजदुर आवासस्थलका लागि पूर्वाधार तयार गरेको छ। आयोजनाको विद्युतगृह अन्नपूर्ण गाउँपालिका ६ स्थित पोखरेबगर र रातोपानीको बीचमा प्रस्ताव गरिएको छ।

    दुई अरब ४१ करोड ५८ लाख २५ हजार रुपैयाँ कूल लागत अनुमान गरिएको छ। स्वदेशी लगानीमा आयोजना बन्न लागेको हो। २०७७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा एनएमबी बैंकको अगुवाईमा एनआईसी एसिया र कैलाश विकास बैंकले एक अर्ब ६९ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ।

    आयोजनामा संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाको तीस प्रतिसत सेयर लगानी रहने जनाइएको छ। बुटबलको नागरिक उर्जा लिमीटेडले तीन हजार भन्दा बढी सर्वसाधारणबाट सेयर संकलन गरेर आयोजनामा लगानी गरेको कम्पनीका अध्यक्ष होमबहादुर गलामीले बताए। आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा समेत वितरण गरिने जनाएको छ।

    स्रोत : अन्नपुर्ण पोस्ट