गर्जाङ–खिम्ती प्रसारण लाइन ७० प्रतिशत

2518

आश्विन ३, २०७६

दोलखा-गर्जाङ–खिम्ती प्रसारण लाइनको प्रगति ७० प्रतिशत पुगेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेको गर्जाङदेखि मन्थली नगरपालिका फुलासीसम्मको १३२ केभी प्रसारण लाइनको निर्माणाधीन अवस्थामा रहेको छ ।
साढे २ वर्षअघि सुरु भएको प्रसारण लाइन आयोजनाको रामेछापको गर्जाङमा नयाँ सब स्टेशन ट्रान्सफर्मर क्षमता १३२-३३ एम.भी.ए स्थापना गरी रामेछापकै फुलासीको न्यू खिम्ती सब स्टेशनमा जोडिने छ । प्रसारण लाइनमा ४९ वटा एंगल टावरसहित जम्मा १०५ वटा टावर रहने आयोजना प्रमुख प्रविण पराजुलीले जानकारी दिए ।

३२ किलोमिटर लामो प्रसारण लाइनको टावरको उचाइ १८ मिटर रहेको छ । चिनको सिन्घाउ ग्रुपले टावरको निर्माण गरिरहेको छ । यसको लागत ७२ करोड रहेको आयोजना प्रमुख पराजुलीले बताए ।

उनका अनुसार टावरको अहिलेसम्म सिभिल तर्फ ८६ प्रतिशत प्रगति भएको छ । टावरका लागि आवश्यक ट्रष्ट र केबल तार वीरगञ्ज भन्सार आइपुगेकाले दसैं तिहारपछि टावर उठाउने काम सुरु हुने उनले बताए । प्रसारण लाइन निर्माणको ठेक्का अवधी ३ वर्ष तोके पनि तोकिएको समयमा पूरा हुनेमा भने आशंका छ ।

‘जग्गाको समस्यालगातयले निर्माणमा केही ठाउँमा अवरोध भयो’ आयोजना प्रमुख पराजुलीले भने ‘६ महिनामा प्रसारण लाइन पूरा अवस्था छैन, केही समय थप गरेर आयोजना पूरा हुन्छ ।’ प्रसारण लाइन डबल सर्किटको हुन्छ । आयोजनाको टावर निर्माणमा केही निजी जग्गाको मुआब्जामा चित्त नबुझेको भन्दै स्थानीयले अवरोध गरेका छन् भने केही सामुदायिक वनभित्रका समूहले अवरोध गर्दा जगसमेत खन्न सकिएको छैन ।

प्रसारण लाइनको रामेछापको निर्माण हुने ७० वटा टावरमध्ये १२ वटा टावर निर्माणमा समस्या देखिएको छ । त्यसैगरी दोलखामा निर्माण हुने ३५ वटा टावरमध्ये ६ वटामा समस्या रहेको छ । दोलखाको तामाकोसी गाउँपालिकामा रहेको इन्द्रतिनखोरिया सामुदायिक वनमा मात्र ४ वटा टावर निर्माण गर्नुपर्छ । यहाँ समूहले जग खन्नसमेत दिएको छैन । गर्जाङमा निर्माणाधीन सव स्टेशनको सबै तयारी पूरा भए तापनि ट्रान्सफरमर ढुवानी र जडानको काम बाँकी छ ।
आयोजना निर्माणका लागि सबै किसिमका ५६ हेक्टर जमिन प्रयोग हुनेछ । आयोजनाबाट रामेछापको साविकको चुचुरे, रस्नालु, ठोसे, बेताली, नामाडी र फुलासी गाविस र दोलखाको सहरे, च्यामा गाविस र जिरी नगरपालिका प्रभावित हुनेछन् ।

खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती, ७ मेगावाटको खिम्ती दोस्रो तत्काल जोडिने छन् । सव स्टेशन निर्माणको ढिलाइले यि आयोजना पूरा हुन लाग्दा काम भने सुस्त गतिमा मात्र अघि बढेको छ । ३ मेगावाट चाके खोलाको विद्युत गर्जाङदेखि जिरीसम्म आफैं ३३ केभी प्रसारण लाइन तयार गरेर ल्याएको छ । निर्माणाधीन ४८ मेगावाटको खिम्ती २ भविष्यमा निर्माण हुने पाँचपोखरी, घट्टे खोला खिम्तीखोला र आसपासका सहायक खोलाहरुमा एक दर्जन भन्दा बढी आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छन् ।

 

स्रोत:कारोबार