भारतबाट आउने बिजुली सस्तियो

    1069

    काठमाडौ: नेपाल विद्युत् प्राधिकरणले भारतका विभिन्न नाकाबाट आयात गरिएको बिजुलीको भाउ आगामी सातादेखि सस्तिने भएको छ ।

    नेपाल–भारत विद्युत् आदान–प्रदान समिति (पीईसी)को मंगलबार सम्पन्न बैठकले आगामी ७ महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ दर कायम निर्णय गरेको हो । ५ वर्षदेखि नेपालले प्रयास गर्दा पनि बस्न नसकेको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय पक्षकै सक्रियता बसेर यस्तो निर्णय गरेको हो ।

    बैठक नबस्दा विगत ६ वर्षदेखि टनकपुर र ढल्केबर–मुज्जफरपुर प्रसारण लाइनबाहेकका अन्य नाकाबाट आयात गरिएको विद्युत्को भाउ प्रत्येक वर्ष ५.५ प्रतिशतका दरले वृद्धि हुँदै आएको थियो ।

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय केन्द्रीय विद्युत् प्राधिकरणका प्रतिनिधिबीच भएको पीईसी बैठकले ११ केभी, ३३ केभी र १३२ केभी वितरण लाइनमार्फत आउने विद्युत्को भाऊ सस्तो भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

    “कार्यकारी निर्देशक नेतृत्वको टोलीसँग भएको वार्तामा भारतले हाल कायम रहेको मूल्य केही घटाएको छ भने प्रत्येक बर्ष ५.५ प्रतिशतका दरले वृद्धि हुने गरेकोमा त्यसको प्रावधानमा पनि सुधार भएको छ,” उनले भने ।

    अधिकारीका अनुसार हाल प्रतियुनिट १०.४५ रुपैया रहेकोमा घटेर ११ केभीमार्फत आउनेमा प्रतियुनिट १०.३२ तथा ३३ केभीमार्फत आउने बिजुलीमा पहिला ९.७२ पैसा रहेकोमा घटेर ९.६० र १३२ केभीमार्फत आयात हुने बिजुलीमा ५० मेगावाटसम्मको ८.९९ र ५० मेगावाटमाथिको ८.८८ रुपैयाँ रहेकोमा ८.८८ रुपैयाँ प्रतियुनिट कायम गरिएको छ ।

    • सात महिनाका लागि नयाँ दर
    • ११० मेगावाट विद्युत् आयात गर्ने
    • इनर्जी बैकिङ र नयाँ लाइन निर्माण पीएससी वैठकमा

    सन् २०१८ को मार्चसम्म कायम हुने र मार्चमा बैठक बसेर नयाँ रेट निर्धारण हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले ३३ केभीमार्फत रक्सोल, सिरहा, जलेश्वर, कटैया र नानपारा नाकाबाट करिब ५० मेगावाट, ११ केभीमार्फत लाली, हुटी र जौलीजीवीमार्फत ९ सय किलोवाट तथा १३२ केभीमार्फत कटैया–कुसाहा प्रसारण लाइनमार्फत १ सय ३० र गण्डक–रामनगरमार्फत ३० मेगावाट आयात गरिरहेको छ ।

    बैठकले आगामी हिउँदको लागि तीन नाकाबाट १ सय १० मेगावाट बिजुली आयात गर्ने टुंगो लगाएको छ । कटैया–कुशाहा र रक्सोल–परवानीपुर १३२ केभी नयाँ प्रसारण लाइनबाट थप ५०÷५० मेगावाट लेऊ र तिर (टेक एण्ड पे ) मा आधारित रहेर आयात गर्ने र त्यसको मुल्य प्रति युनिट ८.८८ रुपैयाँ तय गरिएको पनि प्रवक्ता अधिकारीले जानकारी दिए ।

    नेपालको प्रस्ताव बमोजिम भारत धनगढी–पलिया ३३ केभी लाइनबाट थप १० मेगावाट बिजुली निर्यात गर्नसमेत सहमत भएको छ । बैठकमा नेपालले पलिया–धनगढी, नानपारा–कोहलपुर र सम्पतीया–मैनैयामा १३२ केभी तथा नानपारा–खडिया र नौतनवा–भैरहवामा ३३ केभी लाइन निर्माणको प्रस्ताव राखिएको छ ।

    नेपाल–भारत इनर्जी बैंकिंङको विषयमा पनि छलफल भएको थियो । दुवै विषयमा नेपाल–भारत सचिवस्तरीय संयुक्त समिति (जेएससी) बैठकमा पेश गर्ने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

    स्रोत : कारोबार