५२ धार्मिक स्थलमा सौर्यऊर्जा जडान

    1267

    बागलुङ-बागलुङ नगरपालिका कार्यालयले नगर क्षेत्रभित्रका धार्मिक तथा आध्यात्मिक केन्द्रहरूको प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । कार्यालयले जिल्लालाई धार्मिक पर्यटको उत्कृष्ट गन्तब्य बनाउने भन्दै नगरपालिकाभित्र रहेका विभिन्न ५२ मन्दिर तथा आध्यात्मिक केन्द्रमा सौर्य ऊर्जा (सोलार) जडान गरेको हो ।

    सौर्यऊर्जा प्रवद्र्धन केन्द्र खुमलटारको आर्थिक सहयोगमा बागलुङ नगरपालिकाले नगरभित्रका ५२ धार्मिक तथा आध्यात्मिक संस्थामा सौर्यऊर्जा (सोलार) जडान गरेको नगरपालिकाले जनाएको छ । धार्मिक पर्यटन प्रवद्र्धनमा लागेको नगरपालिकाले धार्मिक संस्थाको महत्व बढाउने योजनासहित सौयैऊर्जा जडान गरेको नगरप्रमुख जनकराज पौडेलले बताए । “बागलुङ नगरपालिकालाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास गर्ने मनसायका साथ अगाडि बढेका छौं,” नगरप्रमुख पौडेलले भने, “यहाँका साना ठूला सबै धार्मिकस्थललाई समेटेर समग्रमा प्याकेजको रूपमा विकसित गर्नेछौँ ।” विद्युत् आपूर्तिमा हुने समस्या र मासिक बिल भुक्तानी गर्न समेत धार्मिक संस्थालाई समस्या हुने गरेकाले सौर्यऊर्जा जडान गरिएको नगरप्रमुख पौडेलले बताए । सोलार जडानका लागि सौर्यऊर्जा प्रवद्र्धन केन्द्रको ८० प्रतिशत अनुदान र नगरपालिकाको २० प्रतिशत लगानी छ । नगरपालिकाभित्र रहेका मन्दिर, गुम्बा, चर्च, स्तुपा, मस्जिदलगायतका ७० धार्मिक तथा आध्यात्मिक संस्थाका लागि अनुदान माग गरी पठाइएको भए पनि सौर्यऊर्जा प्रवद्र्धन केन्द्रबाट ५२ वटा संस्थाका लागि मात्रै स्वीकृत भएर आएको थियो ।

    २० वाट क्षमताको सोलार प्यानल २० एमपीएरको व्याट्री, तीनवटा ५ वाटका बत्तीसहित प्यानल जडानका लागि आवश्यक सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । प्रतिप्यानल ११ हजार ५ सय रुपैयाँ पर्ने प्यानल वितरणको जिम्मा क्वालिटी रिनुयवल इनर्जीले कम्पनीले पाएको छ । बागलुङ नगरपालिका–४ मा रहेको पञ्चकोट, बागलुङ नगरपालिका–१२ मा रहेको भैरव र निरयमा रहेका केही मन्दिरलगायतका धार्मिक संस्थामा सौर्यऊर्जा जडान भएका छ । आगामी आर्थिक वर्षभित्र नगर क्षेत्रका हरेक समुदायमा रहेका धार्मिक संस्थालाई सौयऊर्जा वितरण गरिने नगरपालिकाको लक्ष्य रहेको पौडेलले बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जिल्लाका अन्य स्थानिय तहका विद्यालय, स्वास्थ्य संस्थामा पनि सोलार वितरण गर्दै आएको छ ।

    स्रोत:कारोबार