इन्जिनियर कुलमान बने कुशल व्यवस्थापक

    1460

    मैले भारतबाट इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक तह अध्ययन गरेँ । त्यसपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘मास्टर्स इन पावर सिस्टम’ अध्ययन सकेँ । इन्जिनियरिङमा स्नाकोत्तर सकेपछि पनि व्यवस्थापन अध्ययन गर्न मन लाग्यो । अनि नेपालबाटै एक्जुकेटिभ एमबिए अध्ययन गरे ।

    व्यवस्थापन क्षेत्रभित्र धेरै विषय हुन्छन् । संस्थागत व्यवस्थापन कसरी गर्ने भन्ने विषय आउँछ । सार्वजनिक संस्थामा अझ धेरै समस्या हुन्छन् । त्यसमा कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । एउटा निजी कम्पनी र सार्वजनिक संस्थाको व्यवस्थापन गर्नु फरक कुरा हो । सार्वजनिक संस्थाको व्यवस्थापनमा चुनौतीहरू धेरै छन् । त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषय व्यवस्थापन शिक्षाले दिन्छ । म्यानेजमेन्टका टुल्स पढेको हुन्छ । अध्ययन गरेअनुसार नै टुल्स हुबहु लागू हुन्छ भन्ने हुँदैन । कुन अवस्थामा कुन टुल्स प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्ने व्यवस्थापन शिक्षाले ज्ञान दिन्छ । धेरै विषय व्यक्तिको दक्षतामा पनि भर पर्छ । एमबिए गरेपछि म्यानेजमेन्टका धेरै टुल्सको ज्ञान हुन्छ । त्यसले कुनै पनि संस्थामा काम गर्न सहज गराउँछ ।

    इन्जिनियरिङ मास्टर्ससम्मै प्राविधिक विषय हो । एउटा इन्जिनियरले व्यवस्थापन विषयलाई पनि सँगै अगाडि बढाउँदा धेरै नै राम्रो हुन्छ । व्यवस्थापन भनेको व्यवस्थापनको पक्ष मात्र होइन, यसमा विषय जोडिएर आउँछन् । म्यानेजमेन्टमा ह्युमन रिसोर्स म्यानेजमेन्टका कुरा आउँछन् । फाइनान्सका पनि धेरै विषय आउँछन् । एमबिएमा समग्र विषयको ज्ञान हुन्छ । प्राविधिक विषय अध्ययन गरेको व्यक्तिले व्यवस्थापन गर्दा धेरै नै राम्रो परिणाम आउने सम्भावना हुन्छ । प्राविधिक व्यक्तिलाई धेरै कुरा बुझ्न गाह्रो हुन्छ । शुद्ध प्राविधिक विषय पढेको र थप त्यसमा व्यवस्थापन पढेकोमा धेरै फरक हुन्छ । व्यवस्थापन पढेकालाई काम गर्न सजिलो हुन्छ । फरक क्षेत्रको फाइनान्स, इकोनोमिक्स,रिसोर्स म्यानेजमेन्टलगायतका ज्ञान हुँदा फाइदा पुग्छ । कसरी व्यवस्थापन गर्ने भन्ने विषयको समग्र ज्ञान दिन्छ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इन्जिनियर हुन् । उनी केही वर्षयता निकै चर्चामा छन् । कारण हो, लोडसेडिङको मारमा रहेका जनतालाई त्यसबाट राहत दिनू । यसमा उनले भन्ने गरेका छन्, ‘विद्युत्को सही व्यवस्थापनले लोडसेडिङ हटाउन सम्भव भएको हो ।’ मास्टर्स डिग्रीसम्म इन्जिनियरिङ अध्ययन गरेका घिसिङले एमबिएसमेत गरेका थिए । उनी भन्छन्, ‘मेरो सफलतामा एमबिएको पनि ठूलो भूमिका छ ।’

    प्राविधिक विषय अध्ययन गरेका व्यक्तिले व्यवस्थापन गर्नै नसक्ने भन्ने हुँदैन । इन्जिनियरिङ पढेकाले व्यवस्थापन नपढे पनि राम्रो गरेका छन् । म्यानेजमेन्टको कोर्स लिँदा धेरै नै फरक हुन्छ । सबैका हकमा लागू नहुन पनि सक्छ । व्यवस्थापन पढेर मात्र भन्दा पनि गरेर नै सिक्ने कुरा हो । अनुभवका आधारमा धेरै व्यवस्थापन गर्न सकिने हुन्छ । कुनै पनि टुल्स लामो समयसम्मको प्रयोगबाट ल्याइएका हुन्छन् । त्यो कुरा पढेर आफ्ना क्षेत्रमा कैद गर्दा अझ राम्रो हुन्छ । व्यवस्थापन पढेर सबै हुन्छ भन्ने होइन, आफ्नो व्यक्तिगत क्षमताले ‘म्यानेजरियल स्किल’लाई पनि फरक पार्छ।

    सफलतामा एमबिएको साथ
    मैले जीवनमा व्यवस्थापन शिक्षा आवश्यक छ भनेर एमबिए पढेको हो । पढेपछि पेसामा धेरै नै सजिलो भयो । मैले जति धेरै म्यानेजमेन्टको सिद्धान्त पढेको छु, त्यसलाई मैले धेरै क्षेत्रमा लागू गर्न सकेको छैन । सिद्धान्त पढ्दा र वास्तविक जीवन तथा क्षेत्रमा धेरै फरक पनि हुन्छ । लागू गरौँभन्दा पनि सबै कुरा गर्न सकिँदैन । सार्वजनिक संस्थामा धेरै ‘फ्लेक्जिबल’ हुनुपर्छ । यस्तो संस्थामा यही गर्छु भनेर पनि हुँदैन । यस्ता संस्थामा ‘हायर एन्ड फायर’ पनि गर्नसक्नु हुन्न, धेरै चुनौती छन् । यति हुँदाहुँदै पनि एममबिए पढेकाले पर्फर्मेन्समा धेरै सफलता दिलायो ।

    इन्जिनियरिङ, मेडिसिन सबै विधामा व्यवस्थापन आवश्यक छ । अन्ततः मानिसको जीवन नै व्यवस्थापन हो । हरेक चिजमा व्यवस्थापन भइरहेको छ । तर, संस्थागत व्यवस्थापन कसरी गर्ने भन्नेमा टुल्स र टेक्निक्स आवश्यक पर्छ । हरेक क्षेत्रमा व्यवस्थापन आवश्यक छ । समग्रमा मानिसको जीवनदेखि संस्थाको व्यवस्थापन गर्न व्यवस्थापन शिक्षा आवश्यक छ ।

    स्रोत:नयाँपत्रीका