दोर्दी–१ जलविद्य‌ुत आयोजनाको निर्माण कार्य सुरु

    2695

    १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्य‌ुत आयोजनाको निर्माण कार्य सुरु भएको छ । आइतबार दोर्दी जलविद्य‌ुत आयोजनाका आयोजना प्रमुख उज्ववल सिलवालले एक कार्यक्रमकाबीच आयोजनाको सिलान्यास गरे । उनले तोकिएकै समयमा निर्माण कार्य सक्नेमा आफूहरु ढुक्क रहेको बताए । पानीको बहाबमा आधारित आयोजनाको दोर्दी गाउँपालिका वडा नं. ६ ढोडेनीको माले बगरमा बाँध बाँधिनेछ ।

    २ अर्बको लागतमा २ वर्षको अवधिमा निर्माण सक्ने लक्ष्य लिएको आयोजनाले सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी बिकास बैंक, कैलाश विकास बैंकसँग ऋण सम्झौता गरेको छ । आयोजनामा लमजुङ विद्य‌ुत विकास कम्पनी (लेड्को) र पब्लिक सेयरबाट संकलित रकमको लगानी छ ।

    जलविद्य‌ुत विकास कम्पनी (लेड्को)ले लमजुङमा निर्माण गर्न लागेको यो तेस्रो जलविद्य‌ुत आयोजना हो । दोर्दी खोला जलविद्य‌ुत कम्पनी लि.को प्रवर्द्धन बन्ने यो आयोजनामा २ हजार ५ सय मिटर लामो सुरुङ निर्माण हुनेछ भने ७ सय मिटर पाईपलाईन रहने आयोजना प्रमुख सिलवालले बताए ।

    आयोजनाको ठेकेदार कम्पनी माउन्टेन ईन्फ्लाले सुरुङ र सिभिल वर्कको जिम्मा लिएको छ । यो आयोजनालाई पनि अन्य आयोजनाजस्तै ट्रान्समिसन लाईनको चिन्ता छ । आयोजनाले सडक र बर्षौ बितिसक्दा पनि निर्माण हुन नसकेको नौथर शेरा स्थित दोर्दी खोला पुल नबन्दा बर्षायाममा थप समस्या झेल्नेछ ।

    निर्माण सुरुवातसँगै सामाजिक उत्तरदायित्वका कामहरु सञ्चालन गरेको यस आयोजनाले सामाजिक उत्तरदायित्वका कामहरुलाई निरन्तरता दिने आफुहरुलाई विश्वास रहेको दोर्दी १ जलविद्य‌ुत आयोजना सरोकार समितिका अध्यक्ष नरपति गुरुङले बताए ।