दोलखामा सय मेगावाट विद्युत् थपिँदै

    1551

    साना तथा मझौला गरी ७ वर्षभित्र दोलखाबाट थप १ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । विद्युत् विकास विभागका अनुसार १५ साना तथा मझौला जलविद्युत् आयोजनाद्वारा ७ वर्षपछि दोलखाबाट उक्त परिमाणको विद्युत् उत्पादन हुने भएको हो । यसअघि ५ ओटा जलविद्युत् आयोजनाबाट ७८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको छ भने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित ५ सय ६५ मेगावाट उत्पादन गर्ने गरी ७ ओटा आयोजना निर्माणाधीन अवस्थामा छन् ।

    १५ ओटा आयोजनामार्फत १ सय दशमलव ६ मेगावाट विद्युत् उत्पादन गर्न विभागले सर्भे इजाजतसमेत जारी गरिसकेको छ । सर्भे इजाजत प्राप्त सबैभन्दा कम जिल्लाको मालीस्थित १ सय ४० किलोवाट क्षमताको यलुङखोलादेखि सबैभन्दा ठूलो लामाबगर गाविस चिनियाँ सीमास्थित ६२ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना रहेको विभागको भनाइ छ ।

    साना जलविद्युत् आयोजनामा गोपी विनायक हाइड्रोपावर प्रोजेक्टद्वारा नाम्दु र भीरकोट गाविसको सीमावर्ती गोपीखोलाबाट ९ सय ९६ किलोबाट, हेमराज गुभाजुद्वारा मालीस्थित यलुङखोलाबाट १ सय ४० किलोवाट, हिमाल पावर लिमिटेडद्वारा झाँक्रेखोलाबाट ६ सय ३५ किलोवाट, सास्कन प्रालिद्वारा गुमुखोलाबाट १ मेगावाट, नीलगङ्गा हाइड्रोपावरद्वारा घ्याङखोलाबाट १ मेगावाट, ग्लोबल हाइड्रोपावर एशोसिएटेडद्वारा अपरखिम्ती खोलाबाट १ मेगावाट, दीपककुमार बुढाथोकीद्वारा अँधेरीखोलाबाट ८ सय किलोवाट, ग्लो टेक सोलुशनद्वारा तामाकोशी नदीको भेड्पु खण्डमा ओपन रिभर टाइप टर्बाइनमार्फत ६ सय किलोवाट र गरीबी निवारण विद्युत् निर्माण कम्पनीद्वारा मार्बुको घट्टेखोलाबाट १ मेगावाट विद्युत् उत्पादनका लागि सर्भे इजाजत जारी गरिएको विभागले बताएको छ ।

    मझौला जलविद्युत् आयोजनामा इञ्जिन कन्सल्टेन्सीद्वारा मार्बु गाविसको तल्लो खानीखोलाबाट ९ मेगावाट, मकर जितुमाया हाइड्रोपावरद्वारा चङ्खु र सुरी गाविसको सीमा माथिल्लो सुरीखोलाबाट ७ मेगावाट, नेपाल हाइड्रो डेभलपरद्वारा तल्लो चर्नावती खोलाबाट ६ दशमलव ४ मेगावाट, सावित्री श्रेष्ठद्वारा बिगु गाविसको पेगुखोलाबाट ४ दशमलव ३५ मेगावाट, सञ्जय श्रेष्ठद्वारा आलम्पु तथा बिगु गाविसको सीमा माथिल्लो साँघुखोलाबाट ४ दशमलव ७ सय ४० मेगावाट र मध्यम जलविद्युत् आयोजनामा सानिमा हाइड्रोपावरद्वारा लामाबगर गाविसको चिनियाँ सीमास्थित  जुमखोलाबाट ६२ मेगावाट विद्युत् उत्पादनको सर्भे इजाजत जारी गरिएको विभागको भनाइ छ ।

    स्रोतअभियान