प्रशारण लाइन नहुँदा विद्युत् उत्पादनमा ढिलाइ

1220

लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माणाधिन ३० मेगावाट न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । मस्र्याङदी–६, न्यादी खोलामा निर्माणाधिन सो आयोजना विभिन्न समयमा भएका समस्याका बाबजुत निर्धारित समय भन्दा बढी समय लगाएर सकिएको हो । अघिल्लो वर्षको चैत्र महिनामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएपनि कोरोनाको जोखिमसँगै भएको लकडाउनका कारण आयोजनाको निर्माण अवधी एक वर्ष लम्बिएको थियो । यद्यपी हाल आयोजना निर्माणका सबै काम सम्पन्न भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले जानकारी दिए ।

जनसम्पर्क अधिकृत गुरुङका अनुसार आयोजनामा संरचना निर्माणको काम सकिएको र करिव दुई साता अघिनै सुरुङमा पानी पठाएर परीक्षण गरिएको छ । सुरुङ परीक्षण पश्चात अब आयोजनामा विद्युत् उत्पादनको तयारी भएको जनसम्पर्क अधिकृत गुरुङले बताए छ ।आयोजनाको अनुसार संरचना निर्माण र परीक्षण सकेर आयोजनाबाट विद्युत् उत्पादन गर्नसक्ने भएपनि विद्युत् वितरणका लागि प्रशारण लाइन नहुँदा समस्या हुने भएको छ । लकडाउनका कारण आयोजनासँगै राष्ट्रिय प्रशारण लाइन निर्माणमा पनि समस्या हुँदा ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजनाले नौ किलोमिटर प्रशारण लाइन आँफै निर्माण सुरू गरेको थियो । मस्र्याङदी कोरीडोरमा निर्माण हुने भनिएको २२० केभी राष्ट्रिय प्रशारण लाइन निर्माणमा ढिलाइ हुने भएपछि आयोजना आफैंले १३२ केभी प्रशारण लाइन निर्माण सुरू गरेको हो ।

आयोजनास्थलदेखि मस्र्याङदी–८, भुलभुलेसम्म नौ किमी प्रशारण लाइन निर्माण गर्न लागेको हो । यसअघि आयोजनास्थल ङादीखोलाबाट मस्र्याङदी–३ टारीकुनासम्म प्रशारण लाइन निर्माण गर्ने भनिए पनि २२० केभीको राष्ट्रिय प्रशारण लाइन निर्माण नहुने भएपछि थप तिन किलोमिटर प्रशारण लाईन निर्माण सुरू गरेको गुरुङले बताए ।

प्रशारण लाइनको ६ किलोमिटरको लागि आयोजनाको तर्फबाट १३ वटा टावर निर्माण भइसकेको छ भने पछि थपिएका १२ वटा टावर निर्माणाधिन अवस्थामा रहेका छन् । सोबाहेक माथिल्लो मस्र्याङदीले निर्माण गरेको प्रशारण लाइनमा जडानका लागि सवस्टेशन पनि निर्माण सुरू गर्ने तयारी भएको आयोजनाले जनाएको छ । हाल प्रशारण लाइन र सवस्टेशनका लागि आवश्यक सामग्री तथा तार ल्याइसकेको र निर्माणाधिन अवस्थामा रहेको भन्दै अबको दुई महिनापछि मात्रै विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जनाएको छ ।

न्यादीबाट आफ्नै प्रशारण लाइनमा विद्युत् ल्याएर माथिल्लो मस्र्याङदीले निर्माण गरेको १३२ केभी प्रशारण लाइनमा जडान गरीने आयोजनाले जनाएको छ । माथिल्लो मस्र्याङदी ‘ए’ ले निर्माण गरेको प्रशारण लाइनको तेश्रो टावरमा न्यादीबाट उत्पादित विद्युत् जडान हुने आयोजनाले जनाएको छ ।

२०७३ चैतबाट निर्माण सुरू भएको सो आयोजनामा कोरोना महामारीको प्रभावसँगै जारी लकडाउनका कारण निर्माण अवधी लम्बिएको हो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो ।
आयोजनाका अनुसार ६ अर्ब दुई करोड लागत अनुमान गरिएकोमा हाल प्रशारण लाइन पनि आफंै बनाउनुपर्ने भएपछि १२ करोड र अन्य करिब १० करोड थप हुने अनुमान गरिएको आयोजना प्रमुख उत्तम आमात्यको भनाइ छ ।

स्रोत : कारोबार