बूढीगंगाको काम अघि बढयो

1193

अछाम — बूढीगंगा जलविद्युत् आयोजनाले पछिल्लो समयमा निर्माणपूर्वको कार्य तीव्र गतिमा अघि बढाएको छ । २०७३ सालमा अध्ययन सम्पन्न भई २०७६ सालमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको जलविद्युत् आयोजनाको अबको दुई महिनामा डीपीआर तयार भइसक्ने आयोजना कार्यालयले दाबी गरेको छ ।

कार्यालयको भवन निर्माण सम्पन्न भएसँगै आयोजनालाई आवश्यक पर्ने २ सय ९९ रोपनी जग्गासमेत अधिग्रहण गरेको आयोजनाका साइट इन्चार्ज वीरबहादुर बोहोराले बताए । बोहराका अनुसार २० मेगावाट क्षमताको आयोजनाले मेल्लेख गाउँपालिका ४ कुस्कोटमा करिब ३८ रोपनी र साँफेबगर नगरपालिका १३ बाब्लामा ३२ रोपनी जग्गा लिएको छ ।

आयोजनाको डुबान क्षेत्रमा पर्ने कुस्कोटमा नै करिब ११ रोपनी, बूढीगंगा नगरपालिका १० बाह्रबिस बाजुरामा करिब २२ रोपनी जग्गा अधिग्रहण भएको छ । बाँधस्थल तथा सर्जटयांकका लागि हात्तीकोटमा करिब ९१ रोपनी र क्याम्पस्थल तथा पहुँच मार्गका लागि घुँघुरकोटमा करिब ६५ रोपनी जग्गा अधिग्रहण गरिएको बोहोराले जानकारी दिए ।

पुल निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ । २०७३ साउन ९ मा करिब १ करोड २५ लाखमा श्याम सुन्दर/श्री गीता/हिम सगरमाथा जेभी काडमाडौंसँग सम्झौता भएको थियो । हाल पुल निर्माणका लागि ट्रयाक खुल्ने काम सम्पन्न भएको र अन्य कार्यसमेत अन्तिम चरणमा पुगेको बोहोराले बताए ।

अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्राइभेट लिमिटेड र नेपालको उदय कन्सल्टेन्सीले बूढीगंगाको विस्तृत परयोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्यांकनको जिम्मा पाएका छन् । २०७२ असार १४ गते सम्झौता भई ०७३ पुसमा डीपीआर तयार पार्ने जिम्मा पाएका कम्पनीहरूको काम अन्तिम चरणमा पुगेको छ । डीपीआर तयार पार्न करिब १९ करोड ९१ लाख ३३ हजार लागत रहनेछ । सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार अनुमानित कुल लागत करिब छ अर्ब रुपैयाँ रहेको बोहोरा बताउँछन् ।

आयोजनाको इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी आयोजनाको निर्माणको साउदी फन्ड फर अरब डेभलपमेन्ट र कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग सम्झौता भइसकेको उनले बताए ।

‘नेपाल सरकार, ऊर्जा मन्त्रालय विद्युत् विकास विभागमार्फत बनाउन थालिएको निर्माणाधीन यो पहिलो जलविद्युत् आयोजना हो,’ उनले भने, ‘अहिले स्थानीयको साथ पाइएको छ । डोटीमा सबस्टेसन राख्नका लागि जग्गा लिएका छौं ।’ बूढीगंगा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा खपत हुने र बाँकी विद्युत् कैलालीको पहलमानपुरसम्म पुर्‍याएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ ।
स्रोत:कान्तिपुर