तमोर मेवाको निर्माण यसै वर्ष

    2256

    ताप्लेजुङ, वैशाख ३० गते । ताप्लेजुङस्थित तमोर नदीमा निर्माण गर्न लागिएको तमोरमेवा जलविद्युत् आयोजनाको कार्य यसै वर्षबाट सुरु हुने भएको छ । स्पार्क हाइड्रोपावर कम्पनी लिमिटेडको अगुवाइमा निर्माण गर्न लागिएको आयोजनाको कार्य आउँदो हिउँदबाट सुरु गरिने दाबी गरिएको छ ।

    कुल १२८ मेगाबाट क्षमताको आयोजनाको केही समयभित्रै वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनको प्रतिवेदन तयार गरेर निर्माणको अनुमति लिने तयारी भइरहेको स्पार्क हाइड्रोपावर कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । स्पार्क हाइड्रोपावर कम्पनीसहित गोरक्ष हाइड्रोपावर प्रालि र जलविद्युत लगानी तथा विकास संस्था लिमिटेडको संयुक्त लगानीमा आयोजना निर्माण हुने लिम्बूले बताउनुभयो ।

    आयोजनाको प्रारम्भिक स्थलगत अध्ययन प्रतिवेदन २०७० साल फागुनमा सरकारबाट स्वीकृत भई प्रक्रिया अघि बढेको भए पनि बीचमा केही प्राविधिक समस्या आएका कारण आयोजना निर्माणको कार्यले गति लिन नसकेको उहाँले दावी गर्नुभयो ।

    मुख्य लगानी जुटाउने जिम्मा जलविद्युत् लगानी तथा विकास संस्थाको भएको र स्पार्क तथा गोरक्ष हाइड्रोपावर कम्पनीले पनि उत्तिकै भूमिका निर्वाह गर्ने भएको छ । उहाँका अनुसार कुल लागतको ३५ प्रतिशत जलविद्युत् लगानी तथा विकास संस्थाको रहने छ भने गोरक्षको ३० प्रतिशत, स्पार्कको १५ प्रतिशत, प्रभावित क्षेत्रका जनताको १० र सर्वसाधारण जनताको १० प्रतिशत लगानी रहने छ ।

    आयोजनामा वैदेशिक रोजगारमा गएका नेपालीको समेत लगानी लगाइने बताइएको छ । सुरुमा सर्वेक्षण गरिएको १०१ मेगावाटबाट वृद्धि हुन गई १२८ मेगावाट क्षमता बराबर विद्युत् उत्पादन हुने भएपछि कुल २२ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ ।

    यसै वर्ष अर्थात २०७५ को अन्तिमबाट आयोजनाको निर्माण सुरु गरेमा २०७९ सालभित्र सम्पन्न हुने उहाँको भनाइ छ । उहाँका अनुसार नौ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुँदा केही समय बढी लाग्ने भएको हो । तमोर नदी र मेवाखोला पानी उपयोग गरी निर्माण गरिने आयोजनाबाट उत्पादन हुने विद्युत कोशी करिडोरको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघुमा रहने सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने छ । आयोजनाको विद्युत गृहदेखि ढुङ्गेसाँघु सब–स्टेसनसम्म करिब सात किलोमिटरको प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ । सदरमुकाम फुङ्लिङ, मिक्वाखोला गाउँपालिकाको लिबाङ, खोक्लिङ, मेरिङ्देनको लिङ्तेप, खाम्लुङ र आठराई त्रिवेणीको चाँगे तथा हाङ्पाङ प्रभावित क्षेत्र पर्ने भएका छन् ।

    स्रोत:गोर्खापत्र