रुदी खोला–ए को ९५ प्रतिशत निर्माण कार्य सम्पन्न

    1361

    रुदी खोलामा निर्माणाधिन रुदीखोला–ए जलविद्युत् आयोजनाकोे ९५ प्रतिशत निर्माण कार्य सकिएको छ । कास्की र लमजुङको सिमानामा बग्ने ८ दशमलव ८ मेगावाट क्षमताको आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

    आयोजना प्रमुख सरोज भट्टराईका अनुसार बाँधस्थलको निर्माण, हेडरेस पाइप राख्ने, पेनस्टक पाइप राख्ने, सर्ज ट्यांक निर्माण, पावरहाउस निर्माणलगायतका काम अन्तिम चरणमा पुगेको छ । भट्टराईका अनुसार कास्कीको मिजुरे र लमजुङको सिङ्दीबेँसी सीमामा बाँधस्थलको इन्टेक, वयर, बाँध सुरक्षा पर्खाल, कल्भर्ट (नहर) निर्माणको काम सकिएको छ ।

    बाँधस्थलमा पानी जम्मा गर्ने, पोखरी खन्ने, हेडरेस पाइप राख्ने ठाउँ खन्ने काम सकिएको छ । पाइप बिछाउने, पेनस्टक पाइप राख्ने, सर्जट्यांक खन्ने गरी समग्रमा ९५ प्रतिशत निर्माणकार्य सकिएको भट्टराईले बताए ।

    लमजुङको पसगाउँस्थित सिङ्दीबेँसीमा बाँध बाँधेर कास्कीको मिजुरे रबैडाँडा हुँदै ६ किलोमिटरको पेनस्टक मेटल पाइपमार्फत पानी लगेर बालुवाबेँसीस्थित विद्युत्गृहबाट विद्युत् उत्पादन गरिनेछ । सो आयोजनामा रुदीसहित छेदुवा खोलाको पानीसमेत मिसाइनेछ ।

    तीनसय मिटर ग्रेसहेड रहेको आयोजनाबाट उत्पादित विद्युत् कास्कीको मुग्रेबेँसीस्थित ३३ केभिएको ट्रान्समिसन लाइनमा जडान गरिने मेकानिकल ओभरसियर कृष्णप्रसाद पण्डितले बताए ।

    यस्तै, कास्कीको मिजुरेस्थित बालुवाबेँसीमा निर्माण भइरहेको पावरहाउसको काम पनि सकिएको छ । पावरहाउसमा ‘सिभिल स्ट्रक्चर’ को काम सकिएको छ । ‘पावरहाउसमा मेसिन जडानको काम अन्तिम चरणमा पुगेको छ । टर्वाइन जोडिएको छ’, आयोजनाका सिभिल इन्जिनियर विपिन पाण्डेले भने, ‘७ जुनमा विद्युत् उत्पादन गर्ने गरी काम गरिरहेका छौँ ।’ पाण्डेका अनुसार ७ जुनमा पेनस्टकबाट पानी हालेर टर्वाइनको ‘टेस्टिङ’ गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

    ०६९ मा विद्युत् खरिद—सम्झौता
    रुदी ‘ए’ जलविद्युत् आयोजनाको ०६९ माघ २८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद—सम्झौता (पिपिए) भएको हो । आयोजनाको हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा पिपिए सम्झौता भएको छ । विन्ध्यवासिनीले रुदीखोला ‘ए’ सँगै रुदीखोला ‘बी’ को पनि निर्माण गरिरहेको छ । रुदी ‘बी’ को ३० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

    ट्रान्समिसन लाइन निर्माण
    आयोजनाले आफ्नै लगानीमा सबस्टेसनसम्म विद्युत् प्रसारण लाइन टाँगेको छ । आयोजनाको विद्युत्गृह मादी गाउँपालिका–९ बालुवाबेँसीदेखि मुंग्रीबेँसीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसम्म तार आयोजना आफैँले टाँगेको हो । ३.८ किमि लम्बाइको ३३ केभीको डबल सर्किट ट्रान्समिसन लाइन आफैँ निर्माण गरेको आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर भट्टराईले बताए । विद्युत् प्राधिकरणले तत्काल उक्त प्रसारण लाइन नबनाउने भएकाले उत्पादित विद्युत् खेर जान नदिन आयोजना निर्माणअगावै ट्रान्समिसन लाइन निर्माण गरेको आयोजनाले जनाएको छ ।

    एक अर्ब ३६ करोड लागतमा आयोजना निर्माण

    आयोजना निर्माणका लागि अनुमानित लागत एक अर्ब ३६ करोड २० लाख रुपैयाँ रहे पनि बाढीपहिरोको क्षति, मूल्य वृद्धिका कारणले बढ्न सक्ने बताइएको छ । सानिमा बैंकको नेतृत्वमा ७० प्रतिशत र प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइएको छ । निर्माणकार्य ०७४ असार मसान्तभित्र सक्ने भनिएकोमा ०७३ को असारमै बाढीपहिरोले आयोजनामा क्षति पु‍राएको थियो ।

    स्रोत:नयाँपत्रीका