दरबाङ म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण सुरु

    1828

    म्याग्दी — धौलागिरि हिमालबाट बग्ने म्याग्दी खोला करिडोरमा २५ मेगावाट क्षमताको पहिलो दरबाङ म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

    ५ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाको सिभिल वर्कतर्फको पावर हाउस तथा आवास गृहको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले शिलान्यास गरिन् ।

    सदरमुकाम बेनीबाट २४ किमि पश्चिम मालिका गाउँपालिका, ५ र ७ बिम तथा धौलागिरि गापा ७ धारापानीको फेदीमा बाँध निर्माण गरी ५ किलोमिटर लामो सुरुङबाट म्याग्दी खोलाको पानी ल्याई एक सय मिटर माथिबाट पानी खसाली तल मालिका गापा ६ दु:खुबेंसीमा पावर हाउस रहने आयोजनाले जनाएको छ ।

    लामो समयदेखि विवादमा परेको आयोजनाले संस्थापक सञ्चालक परिवर्तनपछि काम अगाडि बढाएको हो । निर्माता धौलागिरि कालिका हाइड्रो लिमिटेडले सर्वसाधारणबाट संकलन गरेको संस्थापक सेयर लामो समयदेखि फँसेको छ ।

    एनआरएन दक्षिण कोरियाका पूर्वअध्यक्ष स्थानीय विनोद कुँवरले नेतृत्व लिएपछि आयोजनाले गति लिएको हो । म्याग्दी प्रवासी नेपाली संघ (मोना), गैरआवासीय नेपाली संघ (एनआरएन) आबद्ध जिल्लाबासीको म्याग्दी इन्भेस्टमेन्ट कम्पनी र ग्लोबल फ्रेन्डसिप क्यापिटल लिमिटेड आयोजनाको मुख्य प्रवद्र्धक छन् ।

    ‘सबै जिल्लाबासीलाई आयोजनामा जोडिन हामी अनुरोध गरेका छौं । सबै मिलेर आयोजना सम्पन्न गरौं । अरू आयोजना पनि छन्, सबै स्थानीय लगानीमा गरौं,’ आयोजना अध्यक्ष कुँवरले भने, ‘सबै क्षेत्र र पक्षसँगको सहकार्यले आयोजना समयभित्रै सम्पन्न गर्ने लक्ष्य छ ।’

    आयोजनाको ३० प्रतिशत संस्थापक/सर्वसाधारण र ७० प्रतिशत बैंक क्लोजर रहने छन् । आयोजनाको बैंक क्लोजरमा प्रभु, कुमारी बैंकसमेत ६ वटा विकास बैंकरहेका छन् ।
    स्रोत: कान्तिपुर