आगामी चैत देखी पाइपलाइनबाट पेट्रोल

    1320

    काठमाडौँ, पुस १ गते । आगामी चैतमा मोतीहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने भएको छ । निर्माणको काम तोकिएको समयभन्दा अगावै सम्पन्न हुने भएकाले चार महिनापछि अर्थात् चैत १७ गतेसम्म पेट्रालियम पदार्थ ल्याउने तयारी गरिएको हो ।  निगमका अनुसार भारततर्फको ३२ किलोमिटर पाइपलाइन अन्तिम चरणमा पुगेको छ भने नेपालतर्फ करिब २३ किलोमिटर सम्पन्न भइसकेको छ । अमलेखगञ्जको डिपोभित्रको आठ सय मिटर र अमलेखगञ्जदेखि पथलैयासम्मको नौ किलोमिटर बाँकी रहेको छ ।

    निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भन्नुभयो, मार्चसम्ममा पेट्रोल ल्याउने गरी तीव्र गतिमा काम भएको छ । उहाँका अनुसार निर्माण कम्पनीले निरन्तर काम गरिरहेको छ । दैनिक निगरानी र अनुगमन गरी काम भएको उहाँले बताउनुभयो । कामका सन्दर्भमा नियमित छलफल र अनुगमनलाई गति दिइएको उहाँले जानकारी दिनुभयो ।

    निर्माण शुरु गरेको तीस महिनाको अवधि तोकेर गत वैशाबाट शुरु भएको निर्माणको काम आठ महिना नपुग्दै ७५ प्रतिशत सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना मोतीहारी–अमलेखगञ्ज पाइपलाइन निर्माण भएपछि मासिक ७० करोड ढुवानी भाडा बचत हुने अनुमान छ ।

    लक्ष्मण दर्नाल

    स्रोत:गोर्खापत्र