लिखु-४ जलविद्युतले इटालियन कम्पनी सिएमसी बर्खास्त

    44

     सम्झौता अनुसार काम नगरेको आरोप

    CMC Dismissedकाठमाडौं। रामेछापमा निर्माण हुन लागेको ५२.४ मेगावाटको लिखु-४ जलविद्युत आयोजनाले इटालियन कम्पनी सिएमसीलाई बर्खास्त गरेको छ।

    सिएमसी निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी हो। सम्झौता अनुसार काम नगरेको भन्दै आयोजनाले सम्झौता गरेको तीन महिनामै सिएमसीलाई बर्खास्त गरेको हो।सिएमसीले मेलम्चीमा पनि कामदारलाई तीन महिनादेखि तलब नदिएको भन्दै तीन दिनदेखि काम ठप्प पारेका छन्।रामेछापको ओखलमा निर्माण हुन लागेको यो आयोजनाले सिएमसीसँग सिभिल तथा हाइड्रो मेकानिकल कामको लागि गत मंसिर ८ गते मात्रै ठेक्का सम्झौता गरेको थियो।

    कम्पनीले सम्झौता अनुसार काम नगरेको भन्दै सम्झौता गरेको तीन महिनामै लिखु-४ को प्रवर्द्धक ग्रीन भेन्चर्स प्रालीले सिएमसीलाई बर्खास्त गरि आयोजना आफ्नो नियन्त्रणमा लिएको छ।यो मितिसम्म सिएमसीले आयोजनाको काममा लगाएका कर्मचारी, प्राविधिक तथा कामदारहरु, उक्त कम्पनीलाई जुनसुकै प्रकारका निर्माण सामाग्री ढुवानी गर्ने आपूर्तिकर्ताहरु, निर्माण इक्विपमेन्टहरु, भवन तथा जग्गा भाडामा दिने वा अन्य कुनै किसिमका सम्झौता गरिएको भए सम्झौता अनुसार भुक्तानी लिन बाँकी भएमा उक्त रकम सिएमसीसँगै दावी गर्न आयोजनाले भनेको छ।

    ग्रीन भेन्चर्सले सूचना जारी गर्दै फागुन २१ गतेदेखिनै सिएमसीलाई बर्खास्त गरिएको हुँदा सिएमसीसँग सम्झौता गरि रकम भूक्तानी नपाएमा आयोजना जवाफदेही नहुने प्रष्ट पारेको छ। १० अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको वित्तीय व्यवस्थापन गत मंसिर २९ गते भएको थियो। आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक लगायत सात वटा बैंकले कुल लागतको ७५ प्रतिशत हुन आउने सात अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्। २५ प्रतिशत रकम भने विशाल ग्रुप र त्रिवेणी ग्रुपले लगानी गर्नेछन्।

    २०७३ असार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको आयोजनाले २०७७ असोज भित्र विद्युत उत्पादन गरिसक्नु पर्नेछ।

     

    Source: Bizmandu