Budhigandai Hydropower : Will Inundated Aarughat ?

    2488
    Arughat Bazaar
    आरुघाटर

    गोरखाको आरुघाटरका स्थानीयवासीले बूढीगण्डकी जलविद्युत् आयोजनाको जलाशयले आरुघाट डुब्ने/नडुब्ने निश्चित गर्न माग गरेका छन् । आयोजनाको जलाशयले आरुघाट बजार डुब्ने हल्ला चलेपछि स्थानीयवासीले सो माग गरेका हुन् ।

    आरुघाट बजार डुब्ने हल्लाले व्यापार घटेको, घडेरी किनबेच, घर निर्माण र विकास निर्माणको काम ठप्प भएको भन्दै उनीहरुले डुब्ने भए आरुघाटलाई पुनर्निर्माणको चरणमा अन्यत्रै स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

    ‘भूकम्पले साढे चार तले घर ढल्यो । त्रिपालको बास छ । सरकारले २५ हजार भन्दा बढी दिएन । ऋण खोजेर घर बनाउँ भनेको पछि डुबाउला भन्ने डर छ’ आरुघाटका सीताराम नेपालीले भने । घर बनाउने कि टहरोमा बस्ने भनेर अन्यौलमा रहेको उनको भनाइ छ । आयोजना निर्माण हुँदा जलाशयको पानीको सतहले आरुघाट बजार डुबाउने हो भने सरकारले अहिले नै मुआब्जाको व्यवस्था गर्नुपर्ने नेपालीको भनाइ छ । स्थानीयवासी वसन्तमान श्रेष्ठले आयोजनाले पनि गति नलिएको र विकास, निर्माणको काम पूरै प्रभावित बनाएको भन्दै आयोजना बन्दा कहाँसम्म पानीको सतह पुग्ने हो भन्नेबारे निक्र्यौल गरिनुपर्ने बताए । ‘घर, घडेरी किनबेच बन्द भयो । लेकालीहरु आरुघाट छाडेर गोरखा बजार, चितवन झरे’ उनले भने ।

    उत्तरी गोरखाको मुख्य व्यापारिक केन्द्र आरुघाट बजार पुरानो बजारमध्येको एक हो । यहाँबाट मनास्लु पर्यटकीय पदमार्गको सुरुवात हुन्छ भने आरुघाट बजार हुँदै अहिले मध्यपहाडी लोकमार्गको काम धमाधम भइरहेको छ । तर आयोजना निर्माण हुँदा डुब्ने, नडुब्ने अन्यौलकाबीच स्थानीय विद्यालय भवन पुनर्निर्माण, सरकारी तथा व्यक्तिगत भवन, घर निर्माण हुन सकेका छैनन् ।

    स्थानीयवासी पार्वती श्रेष्ठले पक्की घर बनाएर बस्न नपाएको गुनासो गरिन ‘बूढीगण्डकी बन्ने वा नबन्ने टुङ्गो नलाग्दा पक्की घर बनाउन पाएनौं’ उनले भनिन् ।

    @रासस