अपीको सेयरमा चलखेल

    2114

    नेपाल स्टक एक्सचेन्जमा अपी पावर कम्पनीको सेयर मूल्य अस्वाभाविक रूपमा उतारचढाव भएको देखिएको छ । यसलाई सेयर बजारका नियमित लगानीकर्ता र ब्रोकरहरूले ‘चलखेल’ भएको बताएका छन् ।

    ६ दिनमा महँगियो ७५ प्रतिशत

    सिडिएससीमा अभौतिकीरकण (डिम्याट) हुनुअघि गत २ मंसिरमा कम्पनीको सेयर ३ सय २ रुपैयाँ थियो । डिम्याटपछि पनि दुई महिनाभन्दा बढी ४ सयकै ‘रेन्ज’मा रहेको सेयर मूल्य गत फागुनबाट भने उकालो लाग्न थाल्यो । १८ फागुनमा ४ सय ७० मा व्यापार व्यापार बन्द भएको कम्पनीको सेयर ६ दिनको व्यापारपछि ३ सय ५१ रुपैयाँ महँगिएर ८ सय २१ रुपैयाँ पुग्यो । त्यसपछिका दुई दिनमै फेरि सेयरको भाउ १ सय ४१ रुपैयाँ घट्यो ।

    हल्लैहल्लाको चलखेल

    ‘कम्पनीका सञ्चालकले १ कित्ताबराबर २ कित्ताको दरमा हकप्रद सेयर जारी गर्ने हल्ला बजारमा फिँजाएपछि सेयर मूल्य दोब्बर भएको थियो,’ एक ब्रोकर (धितोपत्र दलाल)ले भने । उनका अनुसार संस्थापक सेयरधनीले दोस्रो बजारमा किनेको साधारण सेयर बेचेपछि तत्कालै हकप्रद नआउने हल्ला फिँजाएका थिए । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद सेयर निष्कासनको स्वीकृति माग्न निवेदनसमेत नदिएको सूचना लगानीकर्तामा पुगेपछि सेयरको भाउ एकैपटक खस्किएको हो । यसले सेयर जसरी महँगिएको थियो त्यसरी नै सस्तिन पुग्यो ।

    मारमा सोझा लगानीकर्ता

    ‘कम्पनी सञ्चालक र व्यवस्थापकले यसरी गलत हल्ला फिँजाउने र अनुचित लाभ लिने गर्दा सोझा लगानीकर्ता समस्यामा परेका छन्,’ सेयर लगानीकर्ता पुरुषोत्तम रायमाझी भन्छन् । नेपाल स्टक एक्सचेन्जले डेढ वर्षअघि नै सूचीकृत कम्पनीलाई पत्राचार गरेरै दोस्रो बजार कारोबारलाई असर पार्ने कुनै पनि सूचना नचुहाउन र कम्पनीका निर्णय सबैभन्दा पहिले नेप्सेलाई जानकारी दिन निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको कार्यान्वयन नभएको ब्रोकर र लगानीकर्ता बताउँछन् । सेबोनले यसबारे कुनै टिप्पणी नगर्ने जनाएको छ ।

    त्रिशूली गल्छीमा लगानी गर्न हकप्रद

    नुवाकोट र धादिङको सीमाक्षेत्रमा निर्माण गर्ने प्रस्ताव गरिएको ‘त्रिशूली–गल्छी’ जलविद्युत् आयोजनामा बहुमत सेयर लगानी अपी पावरले गर्ने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए । सिद्धकाली पावर कम्पनीले निर्माण इजाजत लिएको उक्त परियोजनामा ७० प्रतिशत इक्विटी (सेयर) हुने भए पनि ५१ प्रतिशतभन्दा बढी स्वामित्व अपीले लिन लागेको उनले बताए । उक्त परियोजनामा लगानी गर्ने पैसा जुटाउन अपीले उक्त हकप्रद निष्कासन गर्न लागेको हो । अपी समूहले यो आयोजना चिनियाँ कम्पनीलाई बेच्न खोजेको समाचार पनि बाहिर आएका छन् । तर, अध्यक्ष न्यौपानेले आयोजना निर्माणका लागि चीन र मंगोलियाका कम्पनीसँग कुरा भइरहे पनि टुंगोमा नपुगेको बताए ।

    गत साता मात्रै सेबोनमा निवेदन

    कम्पनीले २७ वैशाखमा १ बराबर २ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्न सेबोनमा निवेदन बुझाएको छ । सेबोनले हकप्रद स्वीकृत गर्न समय लाग्ने बताएको छ । यता नेप्सेमा भने हकप्रदका लागि निवेदन दिएको भन्दै अपीको सेयर फेरि महँगिन थालिसकेको छ । गत बिहीबार मात्रै कम्पनीको सेयर ४४ रुपैयाँ महँगिएर ६ सय ७७ रुपैयाँमा पुग्यो । समग्र नेप्से नै ओरालो लागेको आइतबारको कारोबारमा अपीको सेयर मूल्य पनि ७ रुपैयाँ घटेको छ । नेपाल विद्युत् प्राधिकरणसँग त्रिशूली गल्छी आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) बिहीबार स्वीकृत भएको हल्ला सार्वजनिक भएकाले पनि बिहीबार अपीको सेयर मूल्य फराकिलो अन्तरले बढेको ब्रोकरहरू बताउँछन् । प्राधिकरणको बिहीबारको बैठकले उक्त आयोजनाको पिपिएबारे छलफल गरे पनि स्वीकृत भए–नभएको बारे अर्को साता मात्रै निर्णय सार्वजनिक गरिने प्राधिकरणका अधिकारीले बताएका छन् ।

    सेबोन भन्छ : भाउ हेरेर बसेका छैनौ

    ‘हामीले कुन कम्पनीको सेयर कतिमा बिक्री भयो भनेर हेरिरहेका छैनौँ,’ सेबोनका अध्यक्ष डा रेवतबहादुर कार्कीले भने, ‘कम्पनीले केके गरिरहेको छ भन्ने पनि जानकारी नभएकाले यसबारे मेरो भनाइ केही छैन ।’

    भविष्य हेरेर लगानी गरे होलान्

    संस्थापक सेयर अहिले बेच्न मिल्दैन । त्यसैले सञ्चालकले सेयर बेचे भन्ने सत्य होइन । मैले दोस्रो बजार कारोबारलाई नियालेको छैन । हामीले धेरै ठाउनामा लगानी गरेका छौा । त्यसले अपीको नाफा सायद अर्को वर्ष नै दोब्बर हुन सक्छ । त्यही भविष्य हेरेर लगानीकर्ता आकर्षित भएका होलान् । सेयर बजारको मूल्यबारे मैले बोल्न मिल्दैन ।

    गुरुप्रसाद न्यौपाने, अध्यक्ष, अपी पावर कम्पनी 

    स्रोत : नयाँ पत्रिका