हिउँदमा टनकपुरबाट ३० मेगावाट विद्युत् आयात सम्झौता

    1148

    ढल्केबर–मुजफ्फरपुरको विद्युत् खरिद नवीकरण गर्न प्राधिकरण टोली भारत जाँदै –

     नेपाल विद्युत् प्राधिकरणले हिउँदयाममा हुने उच्चतम बिजुलीको लोडलाई व्यवस्थापन गर्न टनकपुर सबस्टेसनबाट ३० मेगावाट विद्युत् आयात सम्झौता नवीकरण गरेको छ । महेन्द्रनगर–टनकपुर प्रसारण लाइनबाट २२ देखि ३० मेगावाटसम्म विद्युत् आयात गर्न भारतको पावर ट्रेड कर्पोरेसन (पिटिसी)सँग सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

    अधिकारीका अनुसार सम्झौता कात्तिक १५ बाट लागू भई जेठमा (नोभेम्बरदेखि जुनसम्म) सकिनेछ । प्राधिरकणले गत वर्ष टनकपुर नाकाबाट ३५ मेगावाटसम्म विद्युत् आयात गरेको थियो ।

    महाकाली सन्धिअनुसार पाउँदै आएको वार्षिक ७ करोड युनिटबाहेक थप विद्युत् आयात गर्न प्राधिकरणले पिटिसीसँग बिहीबार सम्झौता गरेको हो । प्राधिकरण र पिटिसीबीच पुरानै सर्तमा रहेर दोस्रो संशोधनसहितको सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार प्राधिकरणले पिटिसीसँग प्रतियुनिट ५ रुपैयाँ ५ पैसा (३.४४ भारु) दरमा विद्युत् खरिद गर्नेछ ।

    सम्झौतामा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पिटिसीका तर्फबाट निर्देशक राजीवकुमार मिश्राले हस्ताक्षर गरेका छन् । उक्त छलफलमा प्राधिकरणले आगामी दिनमा नेपालको विद्युत्लाई भारतीय बजारमा लैजाने विषयमा समेत छलफल भएको अधिकारीले बताए ।

    हिउँदको समयमा आन्तरिक उत्पादन भएको विद्युत् कम हुने भए पनि नेपालले सो नाकाबाट प्रशस्त विद्युत् आयात गर्न सकेको छैन । टनकपुर सबस्टेसनको क्षमता वृद्धि नहुँदा नेपालले भारतबाट चाहेजति विद्युत् आयात गर्न नसकेको हो । अहिले टनकपुर सबस्टेसनको क्षमता ५० एमभिएको छ । यसलाई बढाएर १ सय एमभिए बनाउन पनि भारतीय पक्षसँग छलफल भएको प्राधिकरणले जनाएको छ ।

    विद्युत् खरिद नवीकरण गर्न शुक्रबार टोली भारत जाँदै
    नेपाल विद्युत् प्राधिकरणले भारतबाट ढल्केबर नाका हुँदै ल्याएको विद्युत्को सम्झौता सकिएपछि प्राधिकरणको टोली शुक्रबार भारत जाँदै छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारी र लेखा विभागका कामु उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाको टोली भारत जाने भएको छ ।

    नेपाल र भारतका ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी)ले अक्टोबरमा यस विषयको टुंगो लगाउनुपर्ने भए पनि बैठक बस्न नसक्दा प्राधिकरणले सम्झौता नवीकरण गर्न लागेको हो ।

    भारतको ऊर्जा मन्त्रालयले प्राधिकरणलाई पत्र लेख्दै सम्झौता नवीकरण गर्न भनेपछि प्राधिकरणको टोली भारततर्फ जान लागेको हो । प्राधिकरणको टोली र भारतको ऊर्जा मन्त्रालयबीच शुक्रबार ११ बजे नयाँ दिल्लीमा ढल्केबरबाट आयात हुँदै आएको विद्युत्को बारेमा छलफल हुँदै छ । हाल प्राधिकरणले ढल्केबरबाट १ सय ३२ केभिएमार्फत स्थिर चार्जिङ प्रणालीबाट विद्युत् आयात गरिरहेको छ ।

    प्राधिकरणले विद्युत् खरिद गर्न भारत सरकारअन्तर्गतको विद्युत् व्यापार निगमसँग २५ वर्षे दीर्घकालीन सम्झौता गरेको छ । सम्झौताअनुसार प्राधिकरणले ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट बर्सेनि न्यूनतम १ सय ५० मेगावाट विद्युत् आयात गर्नुपर्छ । त्यस्तै ढल्केबर सबस्टेसनको क्षमता २ सय २० एमभिएबाट ४ सय एमभिए भए पनि न्यूनतम १ सय ५० मेगावाट चार्जिङ पावर लिनुपर्ने उल्लेख छ । प्राधिकरणले विद्युत् व्यापार निगमसँग सन् २०११ को डिसेम्बरमा १२ मा सो सम्झौता गरेको थियो । तर, नेपालले भारतमा विद्युत् निर्यात गर्न सक्ने अवस्था आएमा पनि सो ऊर्जा भारतीय कम्पनीले नै व्यवस्थापन गर्ने उल्लेख छ ।

    स्रोत:नयाँपत्रीका