थप दुई राष्ट्रिय गौरवका आयोजना

    1579

    काठमाडौँ — सरकारले अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेसनको सहयोगका दुई आयोजनालाई राष्ट्रिय गौरवका परियोजना घोषणा गरेको छ ।

    मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले अमेरिकी सहयोगमा निर्माण गर्न लागिएका काठमाडौंको लप्सेफेदीदेखि धादिङको गल्छी–रातमाटे प्रसारण लाइन र दमौली–भरतपुर–बुटवल प्रसारण लाइन निर्माण आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गर्ने निर्णय गरेको हो ।

    दुई आयोजनालाई राष्ट्रिय महत्त्व दिएर निर्माण कार्य अघि बढाउन सरकारले राष्ट्रिय गौरवको मान्यता दिएको हो । यी दुइटा थपिएपछि मुलुकमा राष्ट्रिय गौरवका आयोजना २३ वटा पुग्नेछन् ।

    दमौली–भरतपुर–बुटवल प्रसारण लाइन निर्माण आयोजना निर्माणाधीन १४० मेगावाटको तनहुँ हाइड्रो, डीपीआर निर्माणका क्रममा रहेको १०४ मेगावाटको तल्लो सेतीसहित उक्त क्षेत्रमा निर्माण हुने जलविद्युत् परियोजनाहरूको विद्युत् केन्द्रीय प्रसारणमा जोड्ने र बुटवलसम्म पुर्‍याउने राष्ट्रिय महत्त्वको आयोजना हो ।

    लप्सेफेदीदेखि धादिङको गल्छी–रातमाटे प्रसारण लाइनसमेत राजधानी उपत्यकामा बढी बिजुली ल्याउन निर्माण हुने आयोजना हो । अमेरिका सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनमार्फत ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि नेपाललाई ५० रुपैयाँ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।

    स्रोत:कान्तिपुर