त्रिशूली ‘थ्री ए’ को ८८ प्रतिशत काम सम्पन्न

    1322

    काठमाडौँ, असार २० गते । त्रिशूली थ्री ए जलविद्युत् आयोजना आउने वर्षभित्र विद्युत् उत्पादन हुनेगरी कार्य प्रगति भइरहेको छ । आयोजनाका अनुसार हालसम्म करिब ८८ सिभिलतर्फको काम पूरा भइसकेको छ ।

    भूकम्पले क्षति पु¥याउँदा र चिनियाँ एक्जिम बैङ्कसँग ऋण सम्झौता हुन नसक्दा लामो समय रोकिएको निर्माण कार्यले विगत केही महिनादेखि गति लिएको हो । गत कात्तिक महिनाको दोस्रो साता आयोजना निर्माणका लागि चिनियाँ एक्जिम बैङ्कसँग ऋण नवीकरण सम्झौता भएपछि आयोजनाको थप काम अगाडि बढेको हो । आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले भन्नुभयो, सिभिल कार्यतर्फ हामीले ८८ प्रतिशतसम्म प्रगति हासिल गरेका छौँ । अरू काम पनि त्यही अनुसार प्रभावकारी रूपमा अघि बढिरहेका छन् ।

    ठाउँठाउँमा स्थानीय बासिन्दाले अवरोध गर्दा लामो समयदेखि रोकिएको प्रसारण लाइनको काम पनि सुचारु भएको प्रमुख जोशीले जानकारी दिनुभयो । १३२ केभीको प्रसारण लाइन निर्माणमा स्थानीय बासिन्दाले बढी मुआब्जालगायतका माग राखेर काममा अवरोध गर्दै आएका थिए । नुवाकोटको सिम्लेदेखि काठमाडौँको मातातीर्थसम्मको ४५ किलोमिटरमा १४० वटा टावर निर्माण गर्नुपर्नेमा ११८ वटा टावरको जग निर्माण भइसकेको छ भने ११० वटा टावर जडान गर्ने कार्य पनि सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । अब आठवटा टावरको मात्र काम बाँकी रहेको र ती टावरको पनि काम सुरु भइसकेको छ । प्रसारण लाइनमा ४० प्रतिशत प्रगति भइसकेको र बाँकी काममा खासै समय नलाग्ने पनि आयोजनाले जनाएको छ ।

    आयोजनाका अनुसार बाँधस्थल, सुरुङ, विद्युत्गृह सबै स्थानमा कामको गति अघि बढेको छ । करिब चार किलोमिटर सुरुङको काम पनि पूरा हुन थालेको छ । बाँधस्थलमा ढोका जडान गर्ने काम बाहेक अरू सबै कार्य पनि सम्पन्न हुने क्रममा छ । हाइड्रोमेकानिकल कार्यमा ६५ प्रतिशत र इलेक्ट्रोमेकानिकल कार्यमा १६ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । जोशीका अनुसार इलेक्ट्रोमेकानिकल कार्यप्रगति कम देखिएको भए पनि आवश्यक मेसिन, उपकरण, टर्वाइन, जेनेरेटर, ट्रान्सफर्मर आउने कार्य जारी छ । केही उपकरण कलकत्ता बन्दरगाहसम्म आइरहेको र केही चीनबाट आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

    हाल ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीले पनि आफ्ना सबै साधन, स्रोत र जनशक्तिको प्रयोग गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाको सिभिल कार्य गर्न चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पाेरेसन (सीजीजीसी) र प्रसारण लाइन निर्माण गर्न चिनियाँ कम्पनी सीडब्लूईले काम गरेको छ । ६० मेगावाट उत्पादन क्षमताको यो जलविद्युत् आयोजनाको निर्माणका लागि ऋणदाताका रूपमा रहेको चिनियाँ एक्जिम बैङ्कसँगको ऋण सम्झौता भएअनुसार हाल सो बैङ्कले ऋण प्रवाह गर्दै आइरहेको छ ।

    सन् २०१६ को जुन ३० सम्म निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको यो आयोजनालाई भूकम्पपछि सन् २०१९ अप्रिल ३० सम्म पूरा गर्ने लक्ष्य राखिएको छ । झण्डै एक वर्षसम्म ऋण सम्झौता र भूकम्पका कारणले आयोजनाको काम प्रभावित भएको थियो । सन् २०१६ मे १८ बाट समाप्त भएको ऋण सम्झौता गत सन् २०१७ को अन्तिममा आएर नवीकरण भएको थियो । जसले गर्दा आयोजना करिब तीन वर्ष पछि धकेलिएको छ । आयोजना निर्माण गर्न लाग्ने सबै लगानी (७९४ मिलियन चिनियाँ रुपियाँ) नेपाललाई चिनियाँ एक्जिम बैङ्कले दिने सम्झौता छ ।

    स्रोत:गोर्खापत्र