नेपालमा भित्रिएको वैदेशिक लगानीको 46% ऊर्जामा आकर्षित

    1157

    नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को सबैभन्दा ठूलो हिस्सा जलविद्युत्मा देखिएको छ। चालू आवको चैतसम्ममा जलविद्युत् क्षेत्रमा मात्रै 87 अर्ब 56 करोड 23 लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ, जुन कुल लगानीको 46 प्रतिशत हो। उद्योग विभागको तथ्यांकअनुसार नेपालमा हालसम्म 1 खर्ब 90 अर्बको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

           “जलविद्युत् लगानीको प्रमुख क्षेत्र बनेको छ,” विभागका वैदेशिक लगानी निर्देशक विपिनराज भण्डारीको भनाइ छ, “क्षेत्र ठूलो भएको र प्रतिफल पनि आकर्षक भएकाले जलविद्युतमा लगानी बढेको हो।” विभागका अनुसार अघिल्लो वर्ष (071÷72) मा थपिएका पाँच परियोजनाले 54 अर्बको प्रतिबद्धता जनाएका छन्। “यो वर्ष भने भूकम्प र नाकाबन्दीको असरले होला जम्मा दुईवटा मात्र परियोजना थपिएका छन्, लगानी पनि न्यून छ,” भण्डारीले भन्नुभयो।

             तथ्यांकअनुसार नेपालमा अहिलेसम्म 74 वटा परियोजना स्थापना भएका छन्। यी परियोजनाले 10 हजारलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्। सरकारले जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै लाइसेन्स प्रक्रियामा सरलीकरण, बैंकको सहज लगानी र अमेरिकी डलरमा विद्युत् खरिद–बिक्री सम्झौताको व्यवस्था गरेसँगै बाह्य लगानीकर्ता आकर्षित भएका छन् । वैदेशिक लगानी ल्याउन प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्ड गठन भएको छ।

             कारोबार अनलाईनका अनुसार सरकारले हालैमात्र लगानी बढाउने उद्देश्यले माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाका प्रवर्द्धकसँग आयोजना विकास सम्झौता (पीडीए) सम्पन्न गरेको छ। लगानीको वातावरण बनाउने उद्देश्यसहित नेपाल–भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) ले बजार खुला गरिसकेको छ भने देशमा ऊर्जा संकट बढ्दै गएपछि प्रतिमेगावाट 50 लाख सहुलियत, 10 वर्ष पूरै र 5 वर्ष आधा गरी 15 वर्ष कर छुटको व्यवस्था पनि गरेको छ।

             नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारले ऊर्जामा बाह्य लगानी मुलुकको आवश्यकता रहेको बताउँदै चर्को लोडसेडिङले आमजनतासँगै उद्योग व्यवसाय पनि पिल्सिएको उल्लेख गर्नुभयो। “मुलुककै परिवर्तनका लागि जलविद्युत् क्षेत्रमा लगानी बढाउनु र आत्मनिर्भर बन्नुपर्ने देखिन्छ,” मुरारकाले भन्नुभयो, “यसका लागि दलहरूले मन, बचन र कर्मले ऐक्यबद्धता जनाउन आवश्यक छ।” निजी क्षेत्र लगानीमैत्री वातावरणको पक्षमा रहेकाले सरकारले वातावरण बनाउन सके लगानी ह्वात्तै बढ्ने उहाँले बताउनुभयो।

             सरकारले जलविद्युत्मा लगानी बढाउने र जलविद्युत्का प्रचुर सम्भावनालाई मध्यनजर गर्दै ऊर्जा संकट निवारण तथा 10 वर्षे विद्युत् विकास अवधारणापत्र सार्वजनिक गरिसकेको छ। विभागको तथ्यांकअनुसार जलविद्युत्पछि उत्पादनशील क्षेत्रमा पनि लगानी प्रतिबद्धता उल्लेख्य छ। तथ्यांकअनुसार चालू आवको चैतसम्म नेपालमा उत्पादनमूलक क्षेत्रमा 968 परियोजना स्थापना भएका छन् । यी परियोजनार्फत् 35 अर्ब प्रतिबद्धता आएको छ । यो हिस्सा कुल लगानीको प्रतिबद्धताको 19 प्रतिशत हो। संख्यात्मक हिसाबले उच्च देखिएको पर्यटन क्षेत्रमा पनि उल्लेख्य लगानी बढेको छ। विभागले दिएको जानकारीअनुसार पर्यटन क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित 1 हजार 167 परियोजना भित्रिएका छन्।

    स्रोत: चीन रेडियो अन्तर्राष्ट्रिय