प्रधानमन्त्रीले भने- ऊर्जा क्षेत्रको विकासमा स्वर्णयुगको सुरुआत

    2442

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि स्वर्णयुग सुरु भएको बताएका छन् । राजधानीमा आयोजित नेपाल ऊर्जा लगानी शिखर सम्मेलन,२०७२को उद्घाटन गर्दै उनले मुलुक विकासको नयाँ चरणमा प्रवेश गरेकाले ऊर्जा क्षेत्रको विकास अनिवार्य शर्त भएको बताए ।

    ऊर्जा मन्त्रालय, लगानी बोर्ड र इनर्जी डेभलपमेन्ट काउन्सिलले संयुक्त रुपमा ऊर्जा लगानी शिखर सम्मेलन आयोजना गरेका हुन् । नेपाललाई लगानीको केन्द्र बनाउने प्रयास भरहेको उल्लेख गर्दै प्रधानमन्त्री अोलीले खुला हृदयका साथ लगानी गर्न व्यवसायी एवम् लगानीकर्तालाई आग्रह गरे ।

    ‘नेपालमा गरेको लगानी सुरक्षित छ । ढुक्क भएर लगानी गर्नुस्, सरकार आवश्यक सहयोग गर्न तयार छ । सरकारले ठोस कार्ययोजना अगाडि सारेको छ । ढुक्क भएर लगानी गर्नुस्’ प्रधानमन्त्री अोलीले भने ।

    नेपालको आन्तरिक आवश्यकतालाई पूरा गर्दै ऊर्जा बिक्री गर्ने लक्ष्यका साथ काम भइरहेको जनाउँदै सरोकार भएका सबै क्षेत्रको सार्थक सहयोगको आवश्यकता जरुरी रहेको प्रधानमन्त्रीको कथन थियो ।

    सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधार गरेको र लगानीमैत्री वातावरण तयार पारेकाले सकारात्मक सन्देश गएको बताए । ‘दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले आवश्यक तयारी गरेको छ, मुलुक लगानीका लागि स्वर्णभूमिका परिणत भएको छ’ उनले भने ।

    लगानी बोर्डका कार्यकारी प्रमुख राधेश पन्तले ५०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना र ठूला परियोजनालाई बोर्डले सहजीकरण गरिरहेकाले सकारात्मक वातावरण बनेको जिकिर गरे ।

    बुधबारसम्म चल्ने सो सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने २५ मुलुकका १२५ भन्दा बढी लगानीकर्ताको सहभागिता छ । सम्मेलनमा ऊर्जा क्षेत्रको विकासका लागि अपनाइने विधि, प्रविधि तथा योजनाका बारेमा फरक फरक कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।

    सम्मेलनमा अमेरिका, बेलायत, भारत, चीन, चेक , भुटान लगायत मुलुकका सहभागीले नेपालको ऊर्जा क्षेत्रमा लगानीको सम्भाव्यता र अवसरका बारेमा आआफ्ना धारणा राख्ने बताइएको छ ।

    सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई उपलब्ध गराइनेछ । सम्मेलनमा सहभागी हुन आउनुभएका विदेशी लगानीकर्ता तथा व्यवसायीलाई विभिन्न जलविद्युत् आयोजना तथा लगानी सम्भाव्यता भएका क्षेत्रको स्थलगत भ्रमण समेत गराइने छ ।

    नेपाल भारतबीच विद्युत् व्यापार सम्झौता भइसकेका सन्दर्भमा नेपालमा उत्पादित विद्युत्को सहज पहुँच अन्तर्राष्ट्रिय बजारमा रहेको जनाउँदै सहभागीले सम्मेलन नेपालको ऊर्जा क्षेत्रको विकासका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

    स्रोत : ओन्लिन खबर