२५ मेवाको दोर्दी ‘ए’ तिहारलगत्तै

    2542

    असोज ३, काठमाडौं ।

    dordi 3 २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण तिहारलगतै शुरू हुने भएको छ । मङ्सिरको अन्त्यबाट आयोजनाको काम अघि बढाउने तयारी भइरहेको आयोजनाका आर्थिक तथा प्रशासन प्रमुख धु्रवकुमार श्रेष्ठले अभियानलाई बताए । उनले भने, ‘आगामी साउन १५ सम्ममा वित्तीय व्यवस्थापनलगायतको काम पूरा गर्ने हाम्रो योजना छ ।’

    लमजुङको ढोडेनी र फलेनी गाविसमा निर्माण हुन लागेको सो आयोजनामा नेपाल इन्भेष्टमेण्ट बैङ्कको नेतृत्वमा नेपाल बैङ्कलगायत जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले करीब रू. २ अर्ब ८७ करोड लगानी गर्ने भएका छन् । कुल ३ अर्ब ९६ करोड रुपैयाँ लागतको सो आयोजनामा बाँकी रकम प्रवर्द्धकले इक्विटीको रूपमा लगानी गर्नेछन् । आयोजना उपयुक्त देखिएकाले लगानी गर्ने निर्णयमा पुगेको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले बताए । उनले भने, ‘आयोजनामा एचआईडीसीएलले नेतृत्वकर्ता बैङ्कसरह लगानी गर्नेछ ।’ केही समयअघि ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्वमा गठित प्राविधिक टोलीले आयोजना उपयुक्त भएकाले लगानी गर्न एचआईडीसीएललाई सुझावसहितको प्रतिवेदन दिएको थियो ।

    सो आयोजना लिबर्टी इनर्जी हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको हो । आर्थिक र प्राविधिक दृष्टिले उपयुक्त आयोजना भएकाले लगानीको कुनै समस्या नपर्ने श्रेष्ठले बताए । आयोजनामा लगानी गर्न स्थानीय बासिन्दा पनि इच्छुक देखिएको कम्पनीले जानकारी दिएको छ । श्रेष्ठले भने, ‘आयोजनामा करीब रू. ६ करोड लगानी गर्न लमजुङवासीले मोडल इन्भेष्टमेण्ट कम्पनी स्थापना गरिसकेका छन् ।’ लमजुङ जन्मस्थान भई जापान बस्दै आएका गैरआवासीय नेपालीले पनि आयोजनामा लगानी गर्ने भएको स्रोतले बताएको छ । गैरआवासीय नेपालीको लगानी करीब १० करोड रुपैयाँ हुने बताइएको छ ।

    आयोजना स्थलसम्म बाटोको सुविधा पुगिसकेकाले आयोजना निर्माण कार्य अघि बढाउन सहज भएको आयोजनाका एक प्रवर्द्धकले बताए । उनका अनुसार प्रसारण लाइनको भने केही समस्या छ । सरकारले २०७३ भित्र २ सय २० केभीको मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण गरिसक्ने भने पनि हालसम्म निर्माण शुरू भएको छैन । नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच आयोजनाबाट उत्पादित विद्युत् खरीद गर्न २०६९ असोज २ गते सम्झौता भइसकेको छ । सम्झौताअनुसार आयोजनाले २०७३  असोज २८ गतेसम्ममा व्यापारिक उत्पादन शुरू गरिसक्नेछ ।

    Source : Abhiyan