२५ मेगावाट सौर्य ऊर्जा उत्पादनमा एडीबीको २ अर्ब अनुदान

    2468

    काठमाडौंः एसियाली विकास बैंक (एडीबी)ले २५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि दुई अर्ब रुपैयाँभन्दा बढी (दुई करोड अमेरिकी डलर) अनुदान उपलब्ध गराउने भएको छ ।

    एडीबीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा  सन् २०१८ सम्म २५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणमार्फत अनुदान सम्बद्ध उत्पादकलाई उपलब्ध गराउने गरी सहयोग दिन लागेको जानकारी दिएको हो । नेपालले ‘भायवलिटी ग्याप’अन्तर्गत यस्तो सहयोग पहिलो पटक पाएको हो ।

    नेपालको ऊर्जा आवश्यकता र मागलाई ख्याल गरी सौर्य ऊर्जा प्रवद्र्धनका लागि एडबीले जलवायु कोषबाट २ करोड डलर अनुदान दिने घोषणा गरेको हो । एडीबीले दिन लागेको यो अनुदान २०१५ मा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग ऊर्जा प्रणाली विस्तार आयोजनाका लागि छुट्टयाइएको ४४ करोड ५ लाख डलरमध्येबाट हो ।

    एडीबीका देशीय निर्देशक केनिची योकोयामाले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको सहभागिता अभिवृद्धि र प्रोत्साहनका लागि कोषबाट अनुदान दिन लागिएको बताए । त्यस अवसरमा उनले एडीबीको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजनाको प्रगतिबारे पनि जानकारी गराएका थिए ।

    मेलम्ची खानेपानी आयोजनाजस्ता दिर्घकालिन र सर्वहितैषी परियोजनाहरु एडीबीको विशेष प्राथमिकतामा रहेको उनको भनाइ छ । एडीबीले सौर्य उर्जा प्रणाली विकास गर्न अन्तर्राष्ट्रिय बोलकबोलमार्फत काम गर्ने जनाएको छ ।

    कार्यक्रममा एडीबीको दक्षिण एसिया हेर्ने वरिष्ठ उर्जा विज्ञ एईमिङ झूले ऊर्जाजस्तो महत्वपूर्ण क्षेत्रमा थप वित्तीय सुरक्षा प्रदान गर्न र निजी लगानी आकर्षित गर्न यो सहयोग उपयोगी हुने र त्यसले सरकारलाई आर्थिक दबाब पनि कम पर्ने दाबी गरे ।

    एक पटक निजी क्षेत्र नेपालको सौर्य उर्जाको सम्भावना र फाइदा जानेर लगानी गर्न तत्पर भए नेपाल र सम्पूर्ण दक्षिण एसियाली क्षेत्रमा लगानीको थप अवसर प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

    एडीबीले नेपालमा विद्युत् उपलब्धता अत्यन्तै नाजुक अवस्थामा रहेको भन्दै १ हजार ४ सय ४४ मेगावाटको माग रहेकोमा आठ सय ८५ मेगावाट अर्थात मागको ६५ प्रतिशतमात्रै विद्युत् उपलब्ध रहेको जनाएको छ ।

    स्रोत: कारोबार दैनिक