‘हेवा ए’ जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा, भदौ १५ देखि परीक्षण उत्पादन

    1004

    जिल्लामा निर्माणाधीन ‘हेवा ए’ जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । निर्माण शुरू भएको ५ वर्षपछि आयोजना परीक्षण प्रसारणको चरणमा पुगेको हो । आयोजनाबाट यही भदौ १५ गतेदेखि परीक्षणका रूपमा बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ । २ अर्ब १६ करोड रुपैयाँ लगानी अनुमान गरिएको आयोजनामा नाकाबन्दी, स्थानीयको अवरोधलगायत कारणले लागत बढेको आयोजनाले जानकारी दिएको छ ।

    १४ दशमलव ९ मेगावाट क्षमताको आयोजनाको काम ९९ प्रतिशत पूरा भएको आयोजना निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीले बताएको छ । हालसम्म आयोजनामा ४ किलोमिटर टनेल (सुरुङ), ड्याम, इलेक्ट्रिक जडान, पावरहाउस र ट्रान्समिशनलगायतका काम पूरा भइसकेका छन् । सानिमा बैङ्कको नेतृत्वमा ११ ओटा बैङ्कले लगानी गरेको आयोजनाको कुल लागत २ अर्ब १६ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा लागत वृद्धि भएको आयोजना प्रमुख पुष्पज्योति ढुङ्गानाले जानकारी दिए । आयोजनाका लागि सानिमा, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेण्ट बैङ्कसहित ११ बैङ्क, व्यक्ति र व्यवसायीले लगानी गरेका छन् । नेपाल सरकारबाट भाडामा लिएको ९२ रोपनी, स्थानीयसँग लिएको ७५ रोपनी र वन कार्यालयबाट सट्टा भर्ना गरेको १५ रोपनीसहित १ सय ८२ रोपनी जमीनमा आयोजना सञ्चालित छ ।

    काबेली कोरिडोर समयमै सम्पन्न नहुँदा शुरुआती चरणमा घाटा बेहोर्नुपर्ने आयोजनाले बताएको छ । कोरिडोर निर्माण नुहँदा राष्ट्रिय प्रसारणमा समस्या हुने कारण वार्षिक १५ करोडदेखि २० करोड रुपैयाँसम्म घाटाको अवस्था देखिएको हो । हाल निर्माणकै चरणमा रहेको काबेली कोरिडोर तत्काल निर्माण सम्पन्न हुने देखिँदैन । २०७४ वैशाख १० भित्रमा कोरिडोर निर्माण सक्ने सम्झौता भएको थिया । तर पनि यसअघि पनि पटकपटक म्याद थपिएकाले कोरिडोर सम्पन्न हुनेमा आशङ्का छ । काबेली कोरिडोरको ढिलाइसँगै आयोजनामा समेत केही ढिलाइ गरिएको आयोजनाले बताएको छ ।

    वार्षिक ८ करोड १० लाख युनिट विद्युत् बेच्ने आयोजनाको लक्ष्य छ । मुलुककै ठूलोमध्येको आयोजना सम्पन्न हुन लागेकोमा स्थानीयले खुशी व्यक्त गरेका छन् । हालसम्म पनि आयोजनाले स्थानीयका लागि शेयर निष्कासन नगरेकोप्रति भने उनीहरूको आक्रोश छ । हाल कम्पनी पब्लिक लिमिटेड बन्ने प्रक्रियामा रहेकाले त्यसपछि मात्र धितोपत्र बोर्डमार्फत शेयर निष्कासन गरिने ढुङ्गानाले जानकारी दिए ।

    @ अभियान