हिउँदमा भारतले ६ रुपैयाँमा बिजुली दिने

    3032

    सचेन गौतम/नयाँ पत्रिका
    काठमाडौं, ४ भदौ

    Power Exchange login2भारतले यो वर्षको हिउँदमा नेपाललाई प्रतियुनिट ६ रुपैयाँ (३.७५ भारु)मा बिजुली दिने भएको छ । पावर ट्ेरेडिङ कम्पनी (पिटिसी) इन्डियाले १६ मंसिरदेखि १८ चैत (१ डिसेम्बर–३१ अप्रिल)सम्म टनकपुरबाट प्रतियुनिट ६ रुपैयाँमा बिजुली दिन सकिने जानकारी विद्युत् प्राधिकरणलाई गराएको छ । गत वर्षको हिउँदमा प्राधिकरणले प्रतियुनिट ६ रुपैयाँ ८८ पैसा (४.३० भारु)मा पिटिसी इन्डियासँग बिजुली किनेको थियो । ‘गत वर्षभन्दा यो वर्ष पिटिसी इन्डियाले सस्तो दरमा ३० मेगावाटसम्म बिजुली टनकपुरबाट दिन सकिने जानकारी गराएको छ,’ प्राधिकरण स्रोतले भन्यो । पिटिसीले भारतको छत्तिसगढमा उत्पादित बिजुली राष्ट्रिय ग्रिडमार्फत टनकपुरबाट नेपाललाई उपलब्ध गराउनेछ ।

    पिटिसीले प्रस्ताव गरेको ३० मेगावाट बिजुलीमध्ये टनकपुर–महेन्द्रनगरको प्रसारण लाइन क्षमताले भ्याए त्यहाँबाट पाउने नि:शुल्कसहित करिब ४० मेगावाट र नभ्याएमा ३५ मोगावाट बिजुली ल्याउने लक्ष्य प्राधिकरणको छ । नेपाल–भारतबीचको सम्झौताअनुसार भारतले टकनपुरबाट नेपाललाई वार्षिक रूपमा ७ लाख युनिट बिजुली नि:शुल्क दिँदै आएको छ ।
    स्वदेशी उत्पादनले नपुगेपछि हिउँदमा हुने लोडसेडिङ कम गर्न प्राधिकरणले हरेक वर्ष भारतबाट बिजुली आयात गर्दै आएको छ । गत वर्ष प्राधिकरणले भारतबाट ४ अर्ब ७२ करोड ८७ लाख ८६ हजार रुपैयाँको बिजुली आयात गरेको थियो ।
    प्राधिकरणले गत आवमा बिहार स्टेट इलेक्ट्रिसिटी बोर्डबाट बाह्रै महिना र पावर ट्ेरड कम्पनी (पिटिसी) इन्डियाबाट बढी माग हुने हिउँदको ६ महिना बिजुली ल्याएको थियो । विद्युत् किनेबापत प्राधिकरणले गत आवमा बिहार इलेक्ट्रिसिटी बोर्डलाई ४ अर्ब ३६ करोड ७३ लाख १० हजार र पिटिसीलाई ३६ करोड १४ लाख ७५ हजार रुपैयाँ तिरेको थियो । बोर्डबाट खरिद गर्ने बिजुली मूल्य महँगो पर्ने गर्छ ।
    गत आवमा बोर्डबाट किनिएको बिजुलीको अधिकतम र न्यूनतम प्रतियुनिट मूल्य क्रमश: ५.०३ भारु (८.०५ नेरु) र ४.४९ भारु (७.१९ नेरु) रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको उपभोक्ता महसुल औसतमा ८ रुपैयाँ ४ पैसा छ ।
    प्राधिकरणका व्यापार विभाग निर्देशक एवं प्रवक्ता सेरसिंह भाटले यो वर्षको हिउँदमा भारतबाट खरिद गरिने बिजुली सस्तो पर्ने सम्भावना रहेको बताए ।
    ‘भारतीय निकायसँग गरिएका औपचारिक र अनौपचारिक कुराकानीमा यो वर्षको हिउँदमा सस्तोमा बिजुली खरिद गर्न पाउने सम्भावना देखिएको छ,’ भाटले भने ।
    प्राधिकरणले यो वर्षको हिउँदमा भारतबाट १ सय ९० मेगावाटसम्म बिजुली आयातको लक्ष्य राखेको छ । सञ्चालनमा रहेका आदान–प्रदान नाकाबाट क्षमताअनुसार र सञ्चालनमा नरहेका नाका सञ्चालन गरी भारतबाट बिजुली ल्याइने प्राधिकरणले जनाएको छ ।
    गण्डक–रामनगरबाट ३० मेगावाट, वीरगञ्ज–रक्सौलबाट १० मोगावाट र भैरहवा–सुनौली प्रसारण लाइनबाट २० मेगावाट बिजुली प्राधिकरणले ल्याउनेछ । कटैया–कुसहा १ सय २३ केभी लाइन क्षमता बढाई १ सय ५० मेगावाट पुर्‍याउन लाइनको कन्डक्टर बदल्ने काम असोजभित्र सक्ने लक्ष्य प्राधिकरणको छ ।
    गत वर्ष आफ्ना विद्युत्गृह, डिजेल तथा मल्टिफयुल प्लान्ट सञ्चालन, निजी क्षेत्रको उत्पादन र भारतबाट बिजुली आयात गरी प्राधिकरणले हिउँदमा लोडसेडिङ दैनिक १२ घन्टामा सीमित राखेको थियो ।
    प्राधिकरणले यो वर्ष भारतबाट १ अर्ब १० करोड युनिट बिजुली ल्याउने लक्ष्य राखेको छ । त्यसका लागि ७ अर्ब रुपैयाँ छुटयाएको प्राधिकरणले जनाएको छ ।

    Source : सचेन गौतम/नयाँ पत्रिका