सोलु करिडोरबाट १९२ मेगावाट बिजुली थपिँदै, ४ वर्षमा ३ आयोजना सम्पन्न हुने

    2749

    काठमाडौं । आउँदो ४ वर्षभित्र सोलु करिडोरमा निजी क्षेत्रबाट कुल १९२ मेगावाट क्षमतामा ३ ठूला जलविद्युत् आयोजना सम्पन्न हुने भएका छन् । २ वर्षमै सबै आयोजना सम्पन्न हुने भए पनि नेपाल विद्युत् प्राधिकरणले सिरहाको मिर्चैयादेखि सोलुको लमानेसम्म ९० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारणलाइन निर्माणमा ढिलाइ गरेपछि आयोजना सन् २०१९ को अन्त्यमा मात्र सम्पन्न हुने भएका हुन् । अपरसोलु हाइड्रोपावरले निर्माण गरेको २३.५ मेगावाटको सोलु आयोजना सन् २०१८ मा सम्पन्न हँुदैछ । आयोजनाको काम १ वर्षअघि नै सुरु भएको छ । यस्तै साहस ऊर्जा लिमिटेडको ८६ मेगावाटको सोलु दूधकोसी आयोजनाले लगानी जुटाई सिभिल निर्माणको काम सुरु गर्दैछ । ठेकेदार छनोटको काम भइरहेको आयोजनाले जनाएको छ । यस्तै भारतको एस्सेल ग्रुपको साझेदारीमा ८२ मेगावाटको तल्लो सोलु आयोजनाको निर्माण सुरु भइसकेको छ । भारतको पटेल इन्जिनियरिङ लिमिटेडले सिभिल निर्माणको काम सुरु गरिसकेको प्रवद्र्धक सोलु हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत आशिष गर्गले बताए । उनले तल्लो सोलु आयोजना सन् २०१९ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य लिएको  जानकारी दिए  । गर्गका अनुसार सोलु करिडोरमा १८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनेवेशी र ३ मेगावाटको शिसाखोला आयोजना निर्माणको तयारीमा छन् । यी आयोजना निर्माणका लागि सम्बद्ध प्रवद्र्धकहरुले लगानी जुटाउने काम गरिरहेका छन् ।  ३ ठूला जलविद्युत् आयोजना बनाउन झण्डै ३२ अर्ब रुपैयाँ लगानी हँुदैछ । निर्माण सुरु निर्माण हुन लागेको प्रस्तावित ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोशी जलविद्युत्मा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ११ बैंकले ८ अर्ब ६५ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । निजी क्षेत्रबाट मात्र निर्माण हुन लागेको यो सबैभन्दा ठूलो आयोजना हो । आयोजना बनाउन  कुल ११ अर्ब ८६ करोड रुपैयाँ लाग्नेछ । यसमध्ये २७ प्रतिशत अर्थात ३ अर्ब २१ करोड रुपैयाँ प्रवद्र्धकले स्वपुँजीको रुपमा लगानी गर्दैछन्, बाँकी ७३ प्रतिशत बैंकको कर्जा लगानी हुने गरी सेयर संरचना तयार गरिएको छ ।  तल्लो सोलुमा पनि नेदरल्याण्डको एमएमओ बैंक, डच विकास बैंक लगायत प्रवद्र्धकले १६ अर्ब रुपैयाँ लगानी सम्झौता गरेका छन् । आयोजना आउँदो ०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्य लिएको साहसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमप्रसाद पाठकले बताए । पाठकका अनुसार आयोजना आर्थिक रूपमा आकर्षक देखिएकाले लगानीकर्ताले राम्रो प्रतिफल पाउनेछन् । आयोजनाबाट वार्षिक ५२ करोड ८ लाख युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सोलुखुम्बुको तिङला, कागेल, र पञ्चन गाविसमा पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली सोलुको लामानेदेखि सिरहाको मिर्चैयासम्म ९० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण हँुदैछ । कुल ४ अर्ब १० करोड रुपैयाँ लागत रहेको २३.५ मेगावाट क्षमताको सोलु आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा ९ बैंक तथा वित्तीय संस्थाले आइतबार ३ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी सम्झौता गरेका छन् । बाँकी १ अर्ब ३ करोड रुपैयाँ प्रवद्र्धकले स्वपुँजी लगानी गदैछन् । आयोजनामा ७५ प्रतिशत बैंकको र २५ प्रतिशत प्रवद्र्धकले लगानी गर्नेछन् ।  सोलु आयोजनाबाट वार्षिक १३ करोड २५ लाख २० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आगामी ४ वर्षमा (सन् २०१८ को जुलाई) देखि विद्युत् उत्पादन गर्ने तयारीमा आयोजना रहेको छ ।

    Source:baahrakhari