सार्वजनिक र निजी क्षेत्रबाट ७ सय ४० मेगावाट विद्युत् उत्पादन

    3140

    ” ६८६ मेगावाट जलविद्युत् र ५३ मेगावाट थर्मलप्लान्ट “

    lightकाठमाडौं, ४ चैत – सार्वजनिक तथा निजी क्षेत्रको लगानीबाट तीन दर्जन आयोजना निर्माण सम्पन्न भई हालसम्म ७ सय ४० मेगावाट विद्युत् उत्पादन भएको छ ।
    ३६ आयोजनाबाट ६ सय ८६ मेगावाट र दुई थर्मलप्लान्टबाट ५३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । हाल विद्युत्को माग बढेर १ हजार मेगावाट नाघिसकेको छ । सरकारले वि.सं. २०४९ सालमा विद्युत् ऐन ल्याई निजी क्षेत्रलाई पनि जलविद्युत्मा लगानी खुला गरेपछि दुई दशकको अवधिमा निजी लगानीबाट मात्रै २ सय मेगावाट भन्दा बढी विद्युत् उत्पादन भएको छ । बाँकीमा नेपाल विद्युत् प्राधिकरणको लगानी छ ।
    यसअवधिमा ५ सय किलोवाटदेखि १ सय ४४ मेगावाट क्षमतासम्मका आयोजना निर्माण भइसकेका छन् । यो वर्ष राष्ट्रिय प्रसारण प्रणालीमा अझै २७ मेगावाट विद्युत् उत्पादन थप हुने भएकाले जडित क्षमता बढेर ७ सय ६७ मेगावाट पुग्नेछ । यस्तै आगामी पाँच वर्षमा विद्युत् प्राधिकरण र प्राधिकरणअन्तर्गतका सहायक कम्पनीबाट ८ सय ७२ र निजी क्षेत्रबाट ४ सय गरी जडित क्षमता २ हजार मेगावाट नाघ्नेछ ।
    हालसम्म  प्राधिकरणले कालिगण्डकी ए (१४४ मेगावाट), मध्यमस्र्याङ्दी (७० मेगावाट) र मस्र्याङ्दी (६९ मेगावाट), कुलेखानी (९२ मेगावाट), चिलिमे (२२ मेगावाट) क्षमताका ठूला आयोजना निर्माण गरेको छ । यस्तै निजी क्षेत्रबाट हिमाल पावर लिमिटेडले खिम्ती ( ६० मेगावाट) भोटेकोसी जलविद्युत् कम्पनीले माथिल्लो भोटेकोसी (४५मेगावाट), युनाइटेड मोदी हाइड्रोपावरले तल्लोमोदी (१० मेगावाट) सिनर्जी इनर्जीले  सिप्रिङखोला (१० मेगावाट), नेस्नल हाइड्रोपावरले इन्द्रावती तेस्रो (७.५ मेगावाट), बुटबल पावर कम्पनीले झिम्रुक (१२.५ मेगावाट) र आधिखोला (९.४ मेगावाट) आयोजनाबाट विद्युत् उत्पादन गरिरहेका छन् ।
    जडित क्षमता ७ सय ४० मेगावाट पुगे पनि सबै आयोजना वर्षभरि पूरै क्षमतामा सञ्चालन हुँदैनन् । अधिकांश जलविद्युत् आयोजना नदीको बहावमा आधारित भएकाले वर्षातमा बढी र सुख्खायाम लागेपछि उत्पादन घट्दै जाने क्रमले गर्दा कुनै पनि आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन् ।
    देशको एक मात्र कुलेखानी जलाशयको जडित क्षमता ९२ मेगावाट भए पनि पानी कम भएको र पिकआवरमा मात्र सञ्चालन गरिने भएकाले विद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालन हुने गरेको छैन । यस्तै हेटौंडामा रहेको डिजेल प्लान्टको विद्युत् उत्पादन लागत बढी हुने र डिजेल अभाव भइरहने जस्ता कारणले यो प्लान्ट पनि औसत १० मेगावाट हारहारीमा सञ्चालन भइरहेको छ । यस्तै विराटनगरमा रहेको ३९ मेगावाट क्षमताको मल्टिफयुल प्लान्ट मर्मत गरेर पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
    पछिल्लो समयमा निजी क्षेत्रले पनि धेरै आयोजना निर्माण थालेकाले आगामी पाँच वर्षमा देशको विद्युत् उत्पादनमा सुधार हुनेछ । सबै आयोजना नदीको बहावमा आधारित भएकाले वर्षादमा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने र सुख्खायाममा नदीमा पानीको बहाव घट्नासाथ उत्पादन ७० प्रतिशतसम्म कटौती हँुदै आएको छ ।

    कारोबार