सात सय ६२ मेगावाटको तमोर सरकारले जनतासँग मिलेर बनाउने

    1127

    पाँचथरः ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जनताकै लगानीमा जलविद्युत् उत्पादन गर्न ‘नेपालको पानी जनताको लगानी’ अभियान सञ्चालन गरिएको बताएका छन् ।

    साना–ठुला जलविद्युत परियोजनाहरुको निर्माण जनताकै लगानीमा सम्भव हुने भन्दै मन्त्री शर्माले यस्तो अभियान सञ्चालन गरिएको बताए ।

    प्रेस सेन्टर नेपालले पाँचथर सदरमुकाम फिदिममा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले यस्तो भनेका हुन् ।

    उनले जनतालाई जलविद्युत् उत्पादनका लागि लगानीमा उत्साहित तुल्याउन ऊर्जा मन्त्रालयले वेबसाइटमार्फत लगानी प्रतिबद्धता पनि सार्वजनिक गर्न लगाएको बताए ।
    लगानी प्रतिबद्धता सार्वजनिकपछि लगानीकर्ताहरु दिनदिनै उत्साहित भइरहेको उनको दाबी छ ।

    पूर्वमा जलविद्युतको सम्भाव्यता अध्ययनका लागि पाँचथर आएका शर्माले लगानी गर्न संघसंस्था, कर्मचारी, उद्योगी व्यवसायी र प्रवासी नेपालीले अधिक रुचि देखाएको उल्लेख गरे ।

    मन्त्री शर्माले सात सय ६२ मेगावाटको जलशाययुक्त तमोर जलविद्युत परियोजनालाई सरकारले जनतासँग मिलेर स्वदेशी लगानीमै बनाउने उल्लेख गरे ।

    उनले तमोरसँगै पश्चिम सेतीसम्मका ठुला जलविद्युत परियोजना जनता र सरकारको संयुक्त लगानी निर्माण गर्न लागिएको पनि जानकारी दिए ।

    मन्त्री शर्माले काबेली १३२ केभी सवस्टेसनको अमरपुरमा उद्घाटन समेत गरेका उनका स्वकीय सचिव जितेश योञ्जनले बताए ।

    मन्त्री शर्माले थापाटारमा रहेको सवस्टेसन समेत एमालेका ऊर्जा तथा जलस्रोत विभागका सचिव वसन्तकुमार नेम्वाङको उपस्थितिमा अवलोनक गरेका छन् ।

    सम्भाव्यता अवलोकन टोलीमा ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङसहित थिए ।

    स्रोत:कारोबार दैनिक