माथिल्लो खोरुङ्गा खोला जलविद्युत् निर्माण सुरु

    1906

    माघ २२, २०७३- जिल्लाको माथिल्लो खोरुङ्गा खोला विद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको आयोजनाको काम अघि बढाएको हो । उक्त आयोजनको सभासद भवानी खापुङले शिलान्यास गरे । उक्त आयोजनाले ४ वर्षभित्र बिजुलीको व्यापारिक उत्पादन थाल्ने कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डांगीले बताए । उत्पादित विद्युत् खरिद गर्न नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । हिउँदयाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने सम्झौता भएको हो ।

    आयोजनाको मोराहाङको खोरुङ्गा खोलामा पावरहाउस निर्माण हुनेछ । हिउँदयाममा नजिकैको इवा खोलाबाट पानी ल्याई वर्षातको जति नै परिमाणमा बिजुली उत्पादन गरिने कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले बताए । आयोजनाले आगामी ०७६ पुस १ भित्रमा व्यापारिक किसिमले बिजुली उत्पादन गर्ने गरी पीपीए भएको कम्पनीका प्रबन्ध सञ्चालक डांगीले बताए । आयोजना निर्माणका लागि स्थानीयको १० प्रतिशत, सर्वसाधारणको २० प्रतिशत र बाँकी प्रवद्र्धक कम्पनीले लगानी गर्नेछ ।

    आयोजनाको लागत १ अर्ब ३७ करोड रुपैयाँ छ । उत्पादित बिजुली जिरीखिम्तीस्थित प्राधिकरणको सबस्टेसनमा ल्याएर जोडिने आयोजनाले जनाएको छ । सबस्टेसन, पावरहाउस, र ड्याम साइड निर्माणका लागि चाहिने करिब १ सय रोपनी जग्गा खरिद गरिसकिएको सञ्चालक लक्ष्मण तिवारीले बताए । आगामी १ महिनाभित्र आयोजनाको वित्तीय व्यवस्थापनको काम गरिसक्ने कम्पनीले जनाएको छ । त्यसका लागि माछापुछ्रे बैंकको अगुवाइमा नेपाल बंगलादेश बैंक र जनता बैंकले लगानी गर्नेछन् ।

    स्रोत:कान्तिपुर