सदरमुकाम अँध्यारो, गाउँ झिलिमिली – विद्युत्को महसुल शिक्षाको विकासमा

    2257

    सुर्खेत, ३ फागुन – सदरमुकाम वीरेन्द्रनगरका बासिन्दाले दैनिक १३ घण्टा भन्दा बढी लोडसेडिङको मार खेपिरहेका बेला १५ कोष पश्चिम बावियाचौर चौबीसै घण्टा झिलिमिली हुन्छ । स्थानीय पहलमा दुईवटा खोलाबाट ७७ किलोवाट विद्युत् उत्पादन सुरु भएपछि बाबियाचौर लोडसेडिङ मुक्त छ ।
    बाबियाचौर लघुजलविद्युत् सहकारी संस्थाले दुई वर्षअघि चौरखोलाबाट २४ किलोवाट र भावर खोलाबाट थप ५३ किलोवाट लघुजलविद्युत उत्पादन सुरु गरेको हो । ७७ किलोवाटमध्ये २४ किलोवाट हाल उपयोग भइरहेको छ । बाँकी ५३ किलोवाट विद्युत् छिमेकमा वितरण गर्ने तयारी छ । पहिलो आयोजनाको विद्युत् उत्पादनपछि हौसिएका स्थानीयले सोही गाविस–८ मा रहेको भावर खोलाबाट थप ५३ किलोवाट लघु जलविद्युत् उत्पादन सुरु गरेका हुन् ।
    आयोजनाका अध्यक्ष केशव पाठकले भावर खोलाबाट ५३ किलोवाट विद्युत उत्पादन सुरु भइसकेको र केही दिनमै विद्युत वितरण सुरु हुने जानकारी दिए । “यो आयोजना सञ्चालनसँगै गाविस लोडसेडिङ मुक्त हुन्छ,” अध्यक्ष पाठकले भने, “केही विद्युत् अन्य गाविसमा पनि बिक्री गछौं ।” दुवै आयोजनाबाट गाविसका १६ सय घरधुरीलाई विद्युत् प्रदान गर्ने सहकारीको लक्ष्य छ । यसका लागि सहकारीले प्रत्यक घरबाट १० हजार रुपैयाँको सेयर वितरण गरेको छ । अध्यक्ष पाठकले ५३ किलोवाट क्षमताको आयोजनाको मेसिन जडान, टर्वाइन जडान, लाइन विस्तारलगायतका सबै काम सकिएको बताए । उनले फागुनको दोस्रो साताभित्र विद्युत् उत्पादन गरेर वितरण सुरु गरिने जानकारी दिए ।
    भावरखोलामा विद्युत् उत्पादनका लागि साढे २ करोड रुपैयाँ खर्च भएको अध्यक्ष पाठकले जानकारी दिए । “एक करोड ३० लाख रुपियाँ नगद र एक करोडबराबरको जनश्रमदानबाट आयोजना सम्पन्न गरेका छौं,” अध्यक्ष पाठकले भने, “अव विद्युत् उपयोग र बिक्री गर्न मात्रै बाँकी छ ।” आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सुन्दर नेपाल संस्थाको सहजीकरणमा नेपाल ऊर्जा विकास कम्पनी ललितपुरले १ करोड ३० लाख सहयोग गरेको थियो ।
    लघु जलविद्युत्बाट वडा नं. १ का तिखाकुना, कुरमुरे र ९ को चनालीबाहेक सबैले विद्युत् उपयोग गर्नेछन् । प्रतियुनिट १० रुपैयाँ र न्यूनतम १ सयदेखि उपभोग हेरेर विद्युत महसुल उठाइने संस्थाले जनाएको छ । लघुजलवद्युत्का लागि स्थानीयको ५० लाख सेयर संकलन भएको छ ।
    गाउँमा चौबीसै घण्टा विद्युत् बल्न थालेपछि बाबियाचौरमा एफएम रेडियो सञ्चालन हुने तयारीमा छ । स्थानीय उपेन्द्र थापाको अध्यक्षतामा डाँडादरा सञ्चार सहकारी संस्थामार्फत रेडियो सञ्चालनमा आउन लागेको हो । “विद्युत् उत्पादन भएसँगै हामीले रेडियो सञ्चालनको तयारी गरेका हौं,” अध्यक्ष थापाले भने ।  कम्प्युटर शिक्षा, मोबाइल मर्मत सेन्टरलगायतका विद्युत्बाट चल्ने कारोबारहरू फस्टाउन थालेका छन् ।
    विद्युत् महसुल विद्यालयमा
    बाबियाचौर लघुजलविद्युत् आयोजना निर्माण समितिले विद्युत् महसुलबाट उठेको रकम गाविसको शैक्षिक विकासका लागि खर्च गर्ने भएको छ । गाउँमै भएको पानीबाट विद्युत् निर्माण गरी प्रयोगमा ल्याएपछि त्यसबापत उठेको रकम शैक्षिक विकासका लागि खर्च गरिने समितिको भनाइ छ ।
    पाठकले विद्यालय समुदायमा हस्तान्तरण भए पनि गाउँमा अन्य स्रोत नभएकाले यस्तो योजना अघि सारिएको बताए । “विद्युत् महसुलबाट प्राप्त रकमलाई गाउँका विद्यालय सञ्चालनमा उपयोग गर्ने निर्णय भएको छ,” उनले भने, “शैक्षिक विकास नै आर्थिक विकासको मूल आधार भएकाले विद्यालयमा लगानी गछौँ ।”
    बाबियाचौर गाविसमा १ उच्च मावि, ३ मावि र ७ प्रावि गरी ११ वटा विद्यालय छन् । प्रत्येक विद्यालयमा मासिक ६ हजारसम्म सहयोग गर्ने समितिको योजना छ । गाउँका उपभोक्ताहरूको सुझावका आधारमा विद्यालयलाई सहयोग गर्ने निर्णय भएको उनले बताए ।

    प्रस्तुति: कारोवार