विद्युत आयोजनाविरुद्ध वैद्य माओवादीको दस्ता

    1205

    Mohan Vaidya, Kiranकलेन्द्र सेजुवाल, सुर्खेत, मंसिर ७ – नेकपा माओवादीले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय निर्माण कम्पनी जिएमआरलाई ‘धपाउन’ छुट्टै सुरक्षा दस्ता बनाउने निर्णय गरेको छ। पार्टीको वीरेन्द्रनगरमा चलेको दुईदिने भेरी-कर्णाली राज्य समिति बैठकले यस्तो निर्णय गरेको हो।
    राज्य समिति सेक्रेटरी भरत बमले माथिल्लो कर्णालीसहित राष्ट्रिय महत्वका आयोजनामा विदेशी हस्तक्षेप हटाउन यस्तो कदम चाल्न लागिएको बताए। ‘अहिलेकै अवस्थामा जिएमआरले काम गर्न थाले त्यसविरुद्ध भूमिगत आन्दोलन गर्नसमेत पछि नहट्ने निर्णय भएको छ,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताविरोधी आयोजनालाई हामी कुनै हालतमा स्विकार्दैनौं।’
    हाल पार्टी मातहतको स्वयंसेवक ब्युरोले माथिल्लो कर्णालीलगायत अन्य आयोजना निगरानी गरिरहेको बमले बताए। विशेषगरी माथिल्लो कर्णालीमा आयोजना पक्षधर स्थानीयले विरोधीलाई लखेट्न थालेपछि छुट्टै दस्ताको आवश्यकता महसुस भएको उनको भनाइ छ। पाँच महिनाअघि जिएमआरले आयोजनास्थलमा गरेको सार्वजनिक सुनुवाइमा माओवादी कार्यकर्ताले विरोध गर्दा उनीहरू स्थानीयबाट लखेटिएका थिए।
    ‘जिएमआरले विभिन्न प्रलोभन दिएर स्थानीयलाई हाम्रोविरुद्ध उतारेको छ,’ उनले भने, ‘त्यसैले पनि पार्टीले सुरक्षा दस्ता बनाउने निर्णय गरेको हो।’ वर्तमान सरकारले राष्ट्रिय महत्वका आयोजना भारत र त्यहाँका व्यापारिक कम्पनीलाई कौडीको भाउमा बेचेको उनले आरोप लगाए।

    प्रस्तुति: नागरिक