मध्य भोटेकोशीमा चिनियाँ कम्पनीले काम गरेन, ठेक्का तोड्ने तयारी

1551

२७ चैत, सिन्धुपाल्चोक । निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काममा ढिलाइ गरेको भन्दै ठेक्का तोड्ने तयारी गरिएको छ ।

चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिकले झण्डै ८ अर्बमा सुरुङ र पावर हाउस निर्माणको ठेक्का पाएको थियो । निर्धारित समयमा काम पूरा नभई थपेको म्यादमा पनि ठेकेदारले काम नगरेपछि मध्य भोटेकोशी आयोजना कार्यालयले ठेक्का प्रक्रिया रद्द गर्न लागेको हो ।

यसबारेमा चिनियाँ ठेकेदारलाई ‘नोटिस टु करेक्ट’ (कार्यशैली परिवर्तन गर्न सूचना)  पठाइसकेको आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार आयोजनाले ग्वाङ्सी हाइड्रोपावरका महाप्रबन्धक फाङलाई नेपालमा बोलाएर सबै अवस्था बताएको थियो ।

६ हजार १ सय २४ मिटर सुरुङ निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म जम्मा  हजार ६ सय मिटर मात्रै सुरुङ खनिएको छ । टनेल थ्रीमा ७० प्रतिशतमात्रै काम भएको छ ।

तर, कार्यव्यस्तता देखाउँदै फाङ स्वदेश फर्केपछि ग्वाङसीले सबै अधिकार डेपुटी जनरल मेनेजर ओएलाई दिएको छ । ठेक्काको नियमअनुसार काम ढिला भयो भने अन्तिम अस्त्रका रुपमा आयोजनाले ‘नोटिस टु करेक्ट’ पत्र दिने प्रचलन छ ।

ठेकेदार कम्पनीले पत्रको मौखिक जवाफ दिए पनि लिखित जवाफ भने नदिएको काफ्लेले बताए । ‘हामीले पत्र दिएपछि पनि काममा कुनै सुधार छैन । मुखले ठीक पारे पनि व्यवहारमा कुनै सुधार नभएपछि हामी ठेक्का रद्द गर्ने मनस्थितिमा पुगेका छौं,’ काफ्लेले भने । छिट्टै बोर्ड बैठक बसेर यो विषयमा निर्णय लिने उनले बताए ।

आयोजनाले ठेकेदार कम्पनीलाई २०१९ को जून ३० सम्म सबै काम सम्पन्न गर्ने गरी म्याद थपेको थियो । तर यो अवधीमा आयोजनाको जम्मा ४२ प्रतिशत मात्रै काम सकिएको छ । ‘उनीहरुले ५० प्रतिशत सम्पन्न भएको भने पनि हामीले दिएको भुक्तानी हेर्दा अहिलेसम्म जम्मा ४२ प्रतिशतमात्रै काम भएको देखियो,’ निर्देशक काफ्लेले भने ।

यो आयोजना सन् २०१३ मा निर्माण सुरु भई २०१७ को जूनमा सिध्याउने योजनाका साथ काम सुरु भएको थियो । तर, भूकम्प, नाकाबन्दी र भोटेकोशी बाढीको कारण आयोजनाको म्याद थपेर सन् २०१९ को जूनसम्म धकेलिएको हो ।

ठेकेदार कम्पनीले सधैं आर्थिक समस्या देखाउँदै काम नगर्ने गरेको आयोजनाका साइट इञ्चार्ज डा. सुनिल लामाले जानकारी दिए । उनले भने, ‘हामीले काम गरेको पैसा रोकेको छैनौं, तर सधैं पैसाको मात्रै समस्या देखाउँछ । यसरी कसरी काम गर्न सकिन्छ ?’

६ हजार १ सय २४ मिटर सुरुङ निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म जम्मा  हजार ६ सय मिटर मात्रै सुरुङ खनिएको छ । टनेल थ्रीमा ७० प्रतिशतमात्रै काम भएको छ । सिभिलको काम ढिला हुँदा आयोजनाले ल्याएका अन्य मेसिनहरु समेत जडान गर्न सकेको छैन ।

स्थानीय सरकारले भन्यो : ठेक्का नतोड

आयोजनास्थलका दुई स्थानीय सरकार भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाले भने ठेक्का रद्द नगर्न सुझाव दिएका छन् । ठेक्का रद्द गर्दा आयोजना निर्माण झन् पछि धकेलिने भन्दै उनीहरुले विज्ञप्ति नै जारी गरेका छन् ।

बाह्रविसे नगरपालिकाका मेयर एवं भोटेकोशी आयोजना सरोकार समितिका संयोजक निमाफुञ्जो शेर्पाले आयोजनाका महत्वपूर्ण कर्मचारीहरु राजधानीमा नै बस्दा धेरै समस्या आएको बताए । आयोजनाभित्र चरम गुटबन्दी रहेको र आयोजनाका प्रमुखहरु कमिसनको चक्करमा लागेकोले पनि समस्या भएको उनको कथन छ ।

ठेकेदार कम्पनीले भने समयमा भुक्तानी नपाएको र स्थानीयले दुःख दिएको गुनासो गर्ने गरेका छन् । शेर्पा भन्छन्, ‘अहिले आयोजनाको लागत बढेको छ । ठेकेदार कम्पनीले पाँच महिनादेखि कामदारहरुको भुक्तानी दिन सकेको छैन । यस्तो अवस्थामा ठेकेदारले कसरी काम गर्न सक्छ ? अहिलेकै ठेकेदारलाई बरु केही रकम बढाएर काम गर्न दिनुपर्छ ।’

आयोजनाको कन्सल्टेन्सीका कारण पनि ठेकेदार कम्पनीले काम नगरेको मेयर शेर्पाले दाबी गरे । ‘काम गर्‍यो, भुक्तानी माग्दा कमिसन माग्छन्, अनि कसरी ठेकेदारले काम गर्न सक्छन् ?’ मेयर शेर्पाले भने ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पनि आयोजनामा स्थानीयले गरेको लगानी सुनिश्चित गर्न र जिल्लाबासीको गौरवको आयोजना छिटो सक्न सबै सबै लाग्नु पर्ने बताए ।