विद्युत् आयोजनाका समस्याप्रति ऊर्जा मन्त्रालय उदासीन

    2924

    Ministry of Energyअसोज १, काठमाडौं (अस) । जलविद्युत् आयोजना निर्माण गर्ने विदेशी कम्पनीका समस्या सम्बोधन गर्न ऊर्जा मन्त्रालय अनिच्छुक देखिएको छ । तामाकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको एसएन पावरले मन्त्रालय र सरकारी निकायका कारण आयोजनाको काम अपेक्षाकृत रूपमा अघि बढाउन नसकेको बताएपछि ऊर्जा मन्त्रालयको यस्तो प्रतिक्रिया दिएको हो । मन्त्रालयले एसएन पावरलाई शुक्रवार पत्र पठाउँदै आयोजना निर्माण गर्ने कम्पनीका सबै समस्या समाधान गर्न नसकिने बताएको छ । ‘आयोजना निर्माण गर्ने कम्पनीका सबै समस्या समाधान गरेर आयोजना निर्माण गर्नुपर्छ भत्रे छैन,’ ऊर्जा मन्त्रालयका प्रवक्ता अनुपकुमार उपाध्यायले अभियानसँग भने ।

    एसएन पावरले आयोजना विकास सम्झौता, विद्युत् खरीद सम्झौता, निजी–सार्वजनिक साझेदारी र विद्युत् भारतलाई विक्री गर्ने योजना ल्याएको उपाध्यायले बताए । ‘आर्थिक र प्राविधिक रूपले उपयुक्त रहेका आयोजना मात्र निर्माण गर्न सकिन्छ,’ उनले भने । आयोजनाको काम अपेक्षाकृत रूपले अघि बढ्न नसकेको भन्दै एसएन पावरले नेपालमा कार्यरत ११ कर्मचारीलाई कटौती गर्ने निर्णय गरेको थियो । एसएन पावरले ६ सय ५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको काम अगाडि बढाएको छ । उसले सरकारसँग आयोजनाको विकास सम्झौता (पीडीए)को लागि आवश्यक छलफल अगाडि बढाएको छ । यस कम्पनीले हिमालय पावर लिमिटेडसँगको साझेदारीमा (ज्वाइण्टभेञ्चर)मा खिम्ती आयोजनाको काम अगाडि बढाएको छ ।

    एसएन पावरले विकासशील देशहरूमा जलविद्युत् आयोजना निर्माण गर्दै आएको छ । स्टाटकाफ्ट र नरफण्डको संयुक्त उद्यमका रूपमा स्थापित एसएन पावरले एशिया, दक्षिण अमेरिका र अफ्रिकाका जलविद्युत् आयोजनाहरूमा लगानी गर्दै आएको छ । उसले विश्वका १२ मुलुकमा ४ सय कर्मचारी कार्यरत रहेको दाबी पनि गरेको छ ।

    Source : © 2012 Abhiyan