विद्युतले सडक बनाएपछि स्थानीय दंग

    1494

    इलाम : जोगमाई खोला साना जलविद्युत् आयोजनाले १० किलोमिटर सडक निर्माण गरेपछि स्थानीयवासी दंग परेका छन् । माईजोगमाई गाउँपालिका-३, प्रेमेजुङका ८० वर्षीय अम्बरबहादुर राई जीवनको उत्तरार्धमा सडकसहितका सुविधा पाएकोमा उत्साहित छन् । घरकै आँगनमा सडक सुविधा पुगेपछरृषि उपज निकासी गर्न ने बेला इच्छा पूरा भयो ।’

    बिरामी हुँदा झोलुंगोमा बोकेर १० किलोमिटर उकालो हिँडेपछि फिक्कल बजार पुग्नुपर्ने स्थानीयलाई अहिले उपचारदेखि कृषि उपज निकासी गर्न सजिलो भएको स्थानीय भक्तबहादुर राईले बताए । गाउँमा फलेका तरकारी सहजै फिक्कल बजार पुर्‍याउन पाएका स्थानीयले विगतमा त्यहाँ सडक बन्ने कल्पना सायदै गरेका थिए ।

    स्थानीय खेलकुमारी राईले सुत्केरी व्यथाले च्यापेका महिलाका लागि हाइड्रो (जलविद्युत् आयोजना)ले बनाएको सडक वरदान नै भएको बताइन् । उनका अनुसार उक्त बाटोमा विगतमा घोडा हिँडाउन पनि समस्या थियो । आयोजनाका दुईवटा गाडीले स्थानीय बिरामी पर्दा ‘एम्बुलेन्सको काम’ गर्ने गरेको उनले सुनाइन् ।

    २७ महिनाअघि सुरु भएको आयोजनाले स्थानीय सडक निर्माणदेखि फलफूलका बिरुवा वितरणसम्मको काम गरेको सञ्चालक पाल्देन लाप्चाले जानकारी दिए । कतिपय ठाउँमा स्थानीयवासीसँग विवाद हुने गरे पनि यो आयोजनामा कुनै समस्या नरहेको सञ्चालक लाप्चाको दाबी छ । उनका अनुसार स्थानीयको साथकै कारण आयोजना चाँडै सम्पन्न भएको हो ।

    सान्भी इनर्जीले निर्माण गरेको ७.६ मेगावाट क्षमताको आयोजनाले वैशाख दोस्रो साता व्यावसायिक उत्पादन सुरु गरेको थियो । माईजोगमाई गाउँपालिकाको माङचोकस्थित विद्युत्गृहदेखि गोदकको राजदुवालीमा रहेको काबेली करिडोरको सबस्टेसनसम्म १० किलोमिटर विद्युत् लाइन विस्तार गरेर वैशाख १८ गते विद्युत् प्राधिकरणलाई बिजुली बिक्री सुरु भएको हो । आयोजनाले २०७१ साल मंसिरमा काम थालेको थियो । आयोजनाको डेढ किलोमिटर सुरुङको काम १५ महिना सम्पन्न भएको थियो ।

    साना जलविद्युत् आयोजनामा पहिलोपटक तोसिबा कम्पनीका मेसिन प्रयोग भएको प्लान्ट म्यानेजर राजेन्द्रप्रसाद काफ्लेले जानकारी दिए । एक अर्ब ५७ करोड लागतमा निर्माण सम्पन्न भएको आयोजनाले एक वर्षभित्र सर्वसाधारणका लागि सेयर निष्काशनको तयारी गरेको छ । आयोजनाका लागि लक्ष्मी बैंकको नेतृत्वमा कैलाश, प्रभु र भिबोर बैंकले ७५ प्रतिशत कर्जा लगानी गरेका छन् ।

    वार्षिक ४२.७ लाख युनिट विद्युत् उत्पादन गर्ने आयोजनाले जनाएको छ । प्राधिकरणले सुक्खा मौसममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र पानी पर्ने मौसममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ । अहिले आयोजनाबाट दुई मेगावाट विद्युत् उत्पादन भइरहेको जनाइएको छ ।

    स्रोत:अन्नपूर्ण पोस्ट