वायु ऊर्जा ५ महिनादेखि बन्द, कमलबजार अन्धकार

    3430

    १७ जेठ, अछाम । अछामको कमलबजार नगरपालिकामा रहेको प्रदेश ७ कै एकमात्र वायु र सौर्य ऊर्जा ५ केन्द्र महिनादेखि बन्द अवस्थामा छ ।

    निर्माण सम्पन्न भएको केही महिनामै बन्द भए पनि यसको मर्मतमा सरोकारवालाले चासो नदेखाएको आरोप स्थानीयले लगाएका छन् ।

    २०७४ भाद्र पहिलो साताबाट हावा र सोलारबाट बिजुली निकालेर जनताहरुलाई बिजुली वितरण गरिएको थियो तर बिजुली वितरण गरेको करिब ५ महिनामै हिउँले गर्दा उक्त वैकल्पिक ऊर्जा बन्द अवस्थामा रहेको छ । २० किलोवाट हावाबाट र ११ किलोवाट सोलारबाट गरी जम्मा ३१ किलोवाट बिजुली उत्पादन गरि कमलबजार नै झिलिमिली बनाइएको थियो । उक्त वैकल्पिक उर्जाबाट करिब ६ हजार जनताहरु लाभान्वित रहेको भएता पनि अहिले कमलबजार कै जनताहरु उक्त वैकल्पिक ऊर्जाबाट बञ्चित भएका छन ।

    उपभोक्ता समितीका अध्यक्ष बलबहादुर कुँवरले निर्माण कम्पनीको चरम लापरबाहीका कारण बिग्रिएर अलपत्र परेको बताए । मर्मतका लागि निर्माण कम्पनीलाई पटक पटक आग्रह गरे पनि बनाउन नमानेको उनले गुनासो गरे ।

    कुँबरका अनुसार, कृष्ण ग्रल एण्ड इन्जिनियरिङ प्रालि, विराटनगर र टेब्सुन जेबी कम्पनीले उक्त वायु ऊर्जा निर्माणको काम गरेका थिए । सम्पूर्ण कार्य निर्माण कम्पनी आफैंले गर्ने सहमति भए पनि निर्माण कम्पनीकै दबावमा विद्युत्त भवन बनाउने काम र त्यसका लागि ढुङ्गा, बालुवा बोक्ने काम जनता आफैंंले गरेका थिए । २ वर्षको ग्यारेन्टी देखाएर जनता आफैंले बनाएको ऊर्जा माघ १० गते हिउँसँगै परेको चट्याङ लागेर बन्द भएको हो ।

    -अनलाइनखबर