लोडसेडिङ हटाएको माओवादीलाई काठमाडौंले किन पत्याएन ?

    2176

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मत गणना जारी छ । र, हाल सम्म १३ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये सात वडा वडामा एमालेले विजयको झन्डा फहराएका छन् भने ६ वटा कांग्रेसको पोल्टामा परेको छ । हालसम्म वडा नं. १, २, ३, ५, २२, २३, २४, २५, २६ २७, २८, २९ र ३० वडाको मत परिणाम आइसकेको छ ।

    तर, यी वडाको मत परिणाम सार्वजनिक गर्दा सत्तारूढ पार्टी माओवादी केन्द्र ‘अभागी’ सावित भएको छ । एमालेसँग चुनावी तालमेल गरेर उपप्रमुख पदमा मात्रै उमेदवारी दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ नम्बर वडामा एक स्थानमा सदस्य जित्यो । तर, लोडसेडिङ हटाएर काठमाडौं झिलिमिली बनाउने नेतृत्वकर्ता माओवादीले खातासम्म खोल्न सकेन ।

    त्यसो त उमेदवारी दर्ता गरेसँगै कामनपामा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गर्ने र माओवादी केन्द्रले प्रमुखमा कांग्रेसलाई सघाउने प्रारम्भिक सहमतिसमेत भएको थियो । तर, माओवादी केन्द्रका उमेदवार सर्वोत्तम डंगोलले उमेदवारले उमेदवारी फिर्ता लिएनन् र कांग्रेस माओवादी आ–आफैँ चुनाव लडे ।

    तर, ८८२९१ मत गन्दासम्म माओवादी केन्द्रका उमेदवारले ३१६० मत मात्रै ल्याएका छन् । महानगरमा खसेको मतको करिब आधा गन्दासम्मको परिणामलाई आँकलन गर्ने हो भने महानगरमा माओवादी केन्द्रलाई जमानत जोगाउन हम्मेहम्मे पर्नेछ ।

    काठमाडौँमा किन देखियो माओवादी केन्द्र कमजोर ?

    २८३ तहमा निर्वाचन भएमध्ये हालसम्म माओवादी केन्द्रले ४६ स्थानमा विजय हासिल गर्यो । पार्टी विभाजन सांगठनिक अवस्थाको मूल्यांकन गर्ने हो भने अघिल्लो चुनवाको तुलनामा माओवादी केन्द्रको ‘कमव्याक’ नै हो । तथापि ऊ काठमाडौं महानगरमा भने नराम्रोसँग खुम्चिन पुग्यो । किन त ? माओवादी केन्द्रका उमेदवार सर्वोत्तम डंगोल भन्छन्, “काठमाडौंमा हाम्रो संगठनको तहसनहसन थियो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान निर्माण आदि एजेन्डाका कारण हामील चुनाव जित्छ भन्नेमा ढुक्क भएर बस्यौँ, हाम्रा कुरा जनताकाबीचमा पुर्याउनै सकेनौँ ।”

    उनले हारको प्रमुख कारण अस्तव्यस्त संगठन नै रहेको औँल्याए । उनले थपे, “पार्टीमा जो प्रवेश गर्छ । उसैलाई सदस्यता दिने । उनीहरूले पनि जनताको बीचमा गएर काम गर्ने । संगठन निर्माण र परिचालन गर्ने काम गरेनन् । ती अवसर खोज्न आएजस्तामात्रै देखिए । त्यसले माओवादीको संगठनात्मक आधार भत्कियो ।”

    उनले पार्टी सरकारमा गएपछि गरेका महानगरमा लोडसेडिङको अन्त्य । विकास निर्माणको थालनी आदि राम्रा काम पनि जनताको बीचमा लैजान नसकिएको स्वीकारे । उनले अगाडि भने, “हामीले लोडसेडिङ हटाएर सहर त झिलिमिली त बनायौँ । तर, कसले कसरी लोडसेडिङ हटायो र बत्ती नजाने अवस्था सिर्जना भयो भन्नेबारे जनतालाई बुझाउन चुक्यौँ ।”

    त्यस्तै चुनावका लागि शक्ति सञ्चयमा पनि माओवादी चुकेको उनको निष्कर्ष छ । भन्छन्, “चुनाव माओवादी केन्द्रले नै गराएको हो । उसकै नेतृत्वको सरकारले अगुवाइ गरेको हो । तर, माओवादी केन्द्र आफैँले चाहिँ चुनावको तयारी गर्न, शक्ति सञ्चय गर्न पाएन । सकेन ।”

    त्यस्तै उनले आगामी दिनमा मिहीन ढंगबाट चुनावी समीक्षा गरेर सहरी क्षेत्रमा संगठन निर्माण, परिचालन र जनताको बीचमा पार्टीलाई लैजान नसक्ने हो भने माओवादी केन्द्र झनै कमजोर हुने उनको विश्लेषण छ ।

    स्रोत: बाह्रखरी