रुकुमगाड जलविद्युत्को निर्माण पुसदेखि

    1377

    रुकुम । पूर्वी रुकुममा पाँच मेगावाट क्षमताको रुकुमगाड जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रुकुमगाड खोलाबाट आगामी २ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको काम अघि बढेको छ । सिस्ने गाउँपालिका–५ र भुमे गाउँपालिका–४ धौलापहिरानजीक आयोजना निर्माण हुन लागेको हो । आयोजनाको लागत करीब १ अर्ब रुपैयाँ भएको बताइएको छ । आयोजना निर्माणका लागि प्राइम कमर्शियल बैङ्क, कुमारी बैङ्क र सेञ्चुरी बैङ्कको गरी करीब ७० करोड लगानी हुनेछ भने प्रवर्द्धन कम्पनी सीईडीबी हाइड्रोफण्डले ३० करोड लगानी गर्ने छ ।

    पहिलो चरणमा नीतिगत र वित्तीय व्यवस्थापनका काम भइरहेको निर्माण कम्पनीका जनसम्पर्क अधिकृत पे्रम साउदले बताए । उनका अनुसार आयोजनाका लागि आवश्यक जग्गा किन्ने काम सकिइसकेको छे । उनले भने, ‘मङ्सिर महीना भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिका साथ थाल्छौं ।’ २०७६ सालभित्रै आयोजना निर्माणको काम पूरा गर्ने उनले जानकारी दिए । आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्ष्ट्रक्शन लिमिटेडले पाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् विक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीदविक्री सम्झौता भइसकेको बताइएको छ ।

    जिल्लाकै ठूलो क्षमताको विद्युत् आयोजना निर्माणपछि रुकुमका अतिरिक्त छिमेकी जिल्लाहरूले भोग्दै आएको विद्युत् समस्या समाधान हुने विश्वास गरिएको छ । भूमे गापा, वडा नं. ३ का स्थानीय बासिन्दा तिर घर्तीले आयोजनाको निर्माणपछि वर्षौंदेखि भोग्दै आएको विद्युत् समस्याबाट छुटकारा पाइने बताइन् । रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकबहादुर पुनले आयोजनाको निर्माणपछि रुकुममा साना तथा ठूला उद्योगहरू स्थापना हुने विश्वास व्यक्त गरे । उनले भने, ‘आयोजनाको निर्माणले  उद्योगमा लगानी हुने सम्भावना रहेको छ ।’

    नेपाल सरकारले एक निर्वाचन क्षेत्रमा एक औद्योगिक ग्राम निर्माण गर्ने योजना विद्युत् समस्याका कारण सफल हुन भएको छैन ।

    रुकुमको चौरजहारी नगरपालिका–१ र मुसिकोट नगरपालिका–६ मा औद्योगिक ग्राम निर्माणका लागि जग्गा छनोट गरिसकिएको घरेलु तथा साना उद्योग विकास समिति, रुकुमका उद्योग अधिकृत लक्ष्मण शर्माले जानकारी दिए । उनका अनुसार विद्युत् समस्याकै कारण औद्योगिक ग्राम निर्माण हुन नसकेको हो । आयोजनाको निर्माणसँगै रुकुमका पूर्वी र पश्चिमी क्षेत्रमा विद्युत् सेवा विस्तार गरिनुका साथै बाँकी रहेको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य छ । त्यसका लागि जिल्लामा सबस्टेशन निर्माण गर्ने योजनासमेत रहेको छ ।

    स्रोत:अभियान