राष्ट्रपति रामवरण यादवको भारत भ्रमण – भारतले थप ४० देखि ५५ मेगावाट बिजुली दिने

    2385

    काठमाडौं, ११ पुस – राष्ट्रपति रामवरण यादवको भ्रमणका क्रममा भारतले नेपाललाई थप बिजुली निर्यात गर्ने प्रतिबद्धता जनाएको छ । ६ दिने भारत भ्रमणका क्रममा सोमबार लखनउ हुँदै बुधबार राजधानी नयाँदिल्ली पुगेका राष्ट्रपति यादवलाई भारतीय पक्षले थप विद्युत्का लागि ग्रिडको क्षमता बढाएर लामो समयका लागि विद्युत् सहयोग गर्ने बताएको हो ।
    नेपालले अहिले भारतबाट ११५ मेगावाट विद्युत् आयात गरिरहेको छ । अहिले ४० देखि ५५ मेगावाट विद्युत् दिन ग्रिडको क्षमता विस्तार भइरहेको भन्दै भारतीय विदेशमन्त्री सलमान खुर्सिदले ग्रिड क्षमता थपेर मध्यकालसम्मका लागि विद्युत् दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
    नेपालले भारतबाट १८० मेगावाटसम्म विद्युत् आयात गर्न पहल गरिरहेको छ । कटैया–कुसाहा १२५ केभीए प्रसारणलाइन निर्माण भएको भए थप ७० मेगावाट विद्युत् भारतबाट आयात गर्न सहज हुन्थ्यो । प्रसारणलाइन निर्माण हुन नसकेको अवस्थामा पनि भारतले अहिले आपूर्ति भइरहेका ग्रिडको क्षमता विस्तार गरी बिजुली दिन लागेको हो । सुख्खा मौसममा लोडसेडिङ बढ्दै गएकाले भारतले नियमित बिजुली दिए ऊर्जा संकट समाधानमा केही सहयोगी हुनेछ ।
    भारतको विदेशमन्त्रालयमा राष्ट्रपतिलाई स्वागत गर्दै विदेशमन्त्री खुर्सिदले भारतले समृद्ध, स्थिर, निरपेक्ष र लोकतान्त्रिक गणतन्त्रका रूपमा नेपाललाई देख्न चाहेको बताए । राजनीतिक दलबीच हुने सहमतिलाई भारतले स्वागत गर्ने उनको भनाइ छ । मन्त्री खुर्सिदसँगको भेटमा राष्ट्रपति यादवले भारतले प्रदान गरेको विकास सहायताका लागि धन्यवाद दिएका थिए ।
    मंगलबार बनारस हिन्दू विश्वविद्यालयको दीक्षान्तमा सहभागी भएका राष्ट्रपति यादवले बुधबार आफ्ना समकक्षी प्रणव मुखर्जीसँग नयाँ दिल्लीमा औपचारिक भेटघाट गरेका छन् । भारतीय राष्ट्रपति मुखर्जीले राष्ट्रपति यादवसमक्ष नेपालको सामाजिक तथा आर्थिक विकासमा भारतको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    यादवले यसअघि सन् २०१० फ्रेबुअरीमा भारत भ्रमण गरेका थिए । उक्त भ्रमणका बेला भारतले नेपालका पाँच नाकासम्म रेलसेवा विस्तार गर्ने, हवाई सेवा विस्तार तथा हेटौंडामा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना गरिदिने प्रतिबद्धता जनाएको थियो ।

    प्रस्तुति: कारोबार