यो वर्ष १२५ मेगावाट बिजुली थपियो, १४३ आयोजना निर्माणाधीन

    1336

    काठमाडौं । यो आर्थिक वर्षमा लक्ष्यभन्दा कम विद्युत उत्पादन हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले १५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरेकोमा निजी लगानीका एक दर्जन आयोजना सम्पन्न भई १२५ मेगावाटमात्र बिजुली उत्पादन हुने भएको हो । हाल १० आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा ११६ मेगावाट बिजुली थप भइसकेको छ । यो महिनाभित्र ९ मेगावाट क्षमताका २ आयोजना सम्पन्न हुँदैछन् ।

    यी सबै निजी लगानीका आयोजना हुन् । १४४ मेगावाटको कालिगण्डकी ‘ए’ पछि सबैभन्दा बढी बिजुली थप यो वर्ष भएको छ ।
    चालु आवमा हालसम्म सम्पन्न भएका आयोजनामा २ मेगावाटको झ्याडीखोला, ४.३ मेगावाटको टुङ्गन ठोस्ने, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए, ६ मेगावाटको दरौदीखोला ए, २ मेगावाटको खानीखोला, ९९६ किलोवाटको मियाखोला, २५ मेगावाटको माथिल्लो मादी, १५ मेगावाटको हेवाखोला ए, ७.६ मेगावाटको जोगमाई र ३.७ मेगावाटको द्वारीखोला आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

    यस्तै, ४ मेगावाटको पुवाखोला र ५ मेगावाटको माथिल्लोमाई सी आयोजना यो महिनामा सम्पन्न हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनका अनुसार निजी लगानीमा ६० आयोजना सम्पन्न भई ४४१ मेगावाट बिजुली थप भएको छ ।

    “लक्ष्य प्राप्ति नभएपनि झण्डै १५ वर्षपछि बढी बिजुली उत्पादन भएको छ,” अधिकारीले बाह्रखरीसँग भने, “आगामी वर्ष पनि यो भन्दा बढी बिजुली उत्पादन हुने छ । विद्युत उत्पादनमा नेपालले फड्को मारेको छ ।” चालु आवमा सरकारले २ सय मेगावाट बिजुली उत्पादन थप गर्ने लक्ष्य लिएको थियो । लक्ष्यअनुसार आयोजना सम्पन्न नहुने भएपछि विद्युत प्राधिकरणले यो वर्ष १५० मेगावाट थप हुने अनुमान गरेको थियो ।

    लक्ष्यमा राखिएका २.८ मेगावाटको छ्याकेखोला, ११.२ मेगावाटको थापाखोला, ३.२ मेगावाटको गेलुनखोला, ६ सय किलोवाटको ढुंगेजिरी,  ४ मेगावाटको सर्दिखोला र ३ मेगावाटको मिदिम करापु रहेकोमा यी आयोजना असारभित्र सम्पन नहुने भएका छन् । आउँदो साउनपछि मात्र यी आयोजना सम्पन्न हुने अधिकारीले जानकारी दिए । प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया आउँदो भदौ असोजमा सम्पन्न हुने छ । यस्तै, १४ मेगावाटको कुलेखानी आयोजना पनि  यो वर्ष सम्पन्न नहुने भएको छ ।

    यीमध्ये २ आयोजना नेपाली र चिनियाँको संयुक्त लगानीमा बनेका हुन् । ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी आयोजना चीनको सिनो हाइड्रो कर्पोरेसन र नेपालको सगरमाथा पावर कम्पनी प्रालिको संयुक्त लगानीमा निर्माण भएको हो । यसमा सिनोको ९० र सगरमाथाको १० प्रतिशत लगानी छ । यस्तै, मादीमा चाइना वाटर एन्ड इलेक्टिक कर्पोरेशन (सीडब्यूई) को ८० र २० गोरखा कन्सट्रक्सनको छ ।

    हालसम्म २ हजार ७३१ मेगावाट क्षमताका १४३ आयोजना निर्माण भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । आगामी वर्ष निजी क्षेत्र र सरकारबाट गरी ८ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी, जलविद्युत् र सोलार प्रविधिबाट गरी २६२ र विद्युत् प्राधिकरणका कुलेखानी र चमेलिया गरी ४४ मेगावाट बिजुली उत्पादन हुनेछ ।

    स्रोत: बाह्रखरी