माथिल्लो त्रिशूली थ्री ए आयोजना – मुआब्जा नदिएपछि आयोजनाको काम ठप्प

    2306

    रसुवा,२१ फागुन – माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले आफ्नो जग्गाको मुआब्जा नदिएको भन्दै रसुवा डाडागाउँ र ठूलागाउँका स्थानीयले आयोजनाको काममा अवरोध पु-याएका छन् । प्रभावित स्थानीयलाई २० दिनभित्र जग्गाको मुआब्जा दिने सहमति भएको भए पनि माग पूरा नगरेको भन्दै स्थानीयले आयोजनाको काममा अवरोध गरेका हुन् ।
    प्रभावित क्षेत्रका स्थानीयले तिन दिनदेखि सडक अवरुद्ध बनाएर आयोजनाका लागि ल्याइएको सामग्री लैजान रोकेका छन् । काम अवरोध गरेपछि रसुवा र नुवाकोटबाट सशस्त्र प्रहरी त्यसतर्फ खटाइएको भए पनि स्थानीयले अवरोध आज पनि जारी राखेका छन् । मुअब्जा नपाएसम्म आयोजनाको काम गर्ने नदिने मिरमिरे हातेमालो युवा कल्बका अध्यक्षकुमार तामाङले बताए ।
    आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयलाई रोजगारीको व्यवस्था गरिनुपर्ने, आयोजनाको कुनै पनि काम स्थानीय क्लबबाट हुनुपर्ने, कल्ब भवन निर्माण गरिदिनुपर्ने, जग्गाको क्षतिपूर्ति रकम उपलब्ध गराउनुपर्ने, आयोजनाको सुरुङ खन्दा भत्किएका घरहरूको उचित क्षतिपुर्ति दिनुपर्नेलगायतका माग राखेको तामाङले बताए । “हामीले पाउने क्षतिपुर्ति अहिले सम्म नपाएकोले आफूहरूले आन्दोलन गर्नुपरेको  हो,” उनले भने, “माग पूरा नभएसम्म हामी आयोजनाको काम गर्ने दिँदैनौं ।”
    आयोजना पक्षले भने सामाजिक सचेतना, रोजगारी, सरकारी तथा गैरसरकारी संस्थालाई आयोजनाले दिएको र त्यस्तो रकम स्थानीय कल्बलाई दिन नसकिने बताएको छ । “हामी उनीहरूले आयोजनाको कुनै पनि कार्यक्रम कल्बले गर्ने जस्ता माग पूरा गर्ने नसकिने खालका छन्, “ आयोजना प्रमुख गोपालबाबु भट्टराईले भने ।  चिनियाँ गेजुवा ग्रुप कम्पनी (सिजिजिसी) ले यस्तो माग अस्वीकार गरिरहेको उनले बताए, तर जग्गाको मुआब्जा तथा क्षेतीपूर्तिका लागि नाप जाँच भइसकेकाले यो काम भने छिट्टै पूरा हुने उनले बताए ।
    यस अघि पनि आयोजना पक्षले नेपाली मजदुरले राखेको ज्यालादरको माग पूरा गर्ने भन्दै स्थानीयबासीले आयोजनाको काम प्रभावित बनाउँदै आएका थिए । आयोजनाको काम एक दिन बन्द गर्दा चिनियाँ ठेकदार कम्पनीले २० लाख रुपयाँ क्षतिपूर्ति लिँदै आएको आयोजा प्रमुख भट्टराईले बताए ।
    रसुवाको डाडागाउँ ७ मा रहेका मैलुङमा बाधँस्थल भएर भूमिगत सुरुङमार्ग हुँदै मनकामना ९ अर्चले नजिक सिम्लेमा निर्माण हुन लागेको आयोजना चिनियाँ ठेकदार कम्पनी सिजिजिसी ग्रुप कम्पनीले लिएको छ ।
    चाइना एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यस आयोजना ११ अर्ब २२ करोडको लागतमा निर्माण भइरहेको छ ।

    प्रस्तुति: कारोबार