माथिल्लो तामाकोसीमा दोस्रो सुरुङमार्ग

    1447

    दोलखाः माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दोस्रो सुरुङमार्ग निर्माण गरेको छ । आयोजनाको माथिल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्नका लागि सुरुङमार्ग निर्माण गरेको हो । दोस्रो सुरुङमार्गको शनिबार ‘ब्रेक थ्रु’ भएको हो ।

    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्ने अर्को सुरुङमार्ग करिब ४ महिना अघिबाट निर्माण सुरु गरेको हो । आयोजनाले निर्माण गरेको यो दोस्रो सुरुङमार्ग हो ।

    आयोजनाले गत भदौमा पहुँचमार्ग भत्किएर अवरुद्ध भएको माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्न ११० मिटर लामो अर्को सुरुङमार्ग ‘रोड टनेल’को निर्माण सुरु गरेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

    आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले काब्रेभीरबाट २५ मिटर स्क्वाएर डायमिटरको ११० मिटर लामो सुरुङ निर्माण गरेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । “१० मिटर अग्लो समतल स्थलसम्ममा सडक पु¥याउन अर्को ‘रोड टनेल’को निर्माण गर्नु परेको” प्रवक्ता डा. न्यौपानेले बताए ।

    गोंगरडाँडाको तल्लो ठाडो सुरुङबाट माथिल्लो ठाडो सुरुङसम्म पुग्ने पहुँचमार्गको ४ किमि सडक वर्षात् र भूकम्पपछि धेरै क्षतिपछि उपयुक्त विकल्प सुरुङमार्ग रोजेको उनले बताए । ४ किमि सडकको ६ वटा घुम्तीमध्ये तेस्रो घुम्तीमा सुरुङमार्ग निर्माण भएको छ ।

    प्रवेशमार्ग अभावमा आयोजनाको पानीको प्रेसर थेग्ने माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्मका विभिन्न कार्य रोकिएको थियो । आयोजनाको हालसम्म हालसम्म करिब ९० प्रतिशत निर्माण सम्पन्न भएको छ ।

    आयोजनाले यसअघि आयोजनाको हेडवक्स लामाबगरसम्म पुग्ने ३४० मिटरको सुरुङमार्ग निर्माण गरेको थियो । भूकम्पले सडक क्षतविक्षत भएपछि काब्रेभीरमा सुरुङमार्ग निर्माण गरेको हो । पहिलो सुरुङमार्ग सार्वजनिक सडकको रूपमा समेत प्रयोग हुने सुरुङमार्ग भए तापनि दोस्रो सुरुङमार्ग भने आयोजनाको आफ्नो प्रयोजनका लागि मात्र प्रयोग हुनेछ ।

    आयोजनाको हेडरेस सुरुङबाट ल्याएको पानी पावर हाउससम्म लैजान दुई वटा ठाडो सुरुङमध्ये एउटा पूरा भएको छ भने दोस्रो निर्माण कार्य जारी छ । तल्लो ठाडो सुरुङ ३७२ मिटरको छ भने माथिल्लो ३१० मिटरको छ । माथिल्लो ठाडो सुरुङको अब ७५ मिटर सुरुङ निर्माण हुन बाँकी छ ।

    दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले नयाँ सार्वजनिक गरेको तालिकाभन्दा अघि विद्युत् उत्पादन हुने संकेत देखिएको आयोजना सम्बद्ध कर्मचारीहरू बताउँछन ।

    स्रोत: कारोबार