माथिल्लो तामाकोसीको काम ५० प्रतिशत सम्पन्न

    2594

    upper_tamakoshi_PHदोलखा, ६ जेठ- ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको छ । दोलखा जिल्लास्थित लामाबगर गाउँ विकास समितिमा निर्माण भइरहेको यस आयोजनाको काम निर्धारित समय आर्थिक वर्ष ०७२÷०७३ भित्रै सम्पन्न हुने अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले जनाएको छ ।
    आयोजनाका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठका अनुसार आयोजनाको कुल १६ किलोमिटर सुरुङमध्ये हालसम्म साढे ९ किलोमिटर (६० प्रतिशत) सम्पन्न भइसकेको छ । सुरुङको कामसँगै बाँधस्थल, बालुवा थिग्राउने पोखरी र भूमिगत विद्युत्गृहको निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढिरहेको आयोजनाका सहायक प्रबन्धक विमल गुरुङले जानकारी दिए ।
    हालसम्म सबैभन्दा ठूलो निर्माणाधीन यस परियोजना सम्पन्न भएपछि मुलुकमा लोडसेडिङ चार घण्टामा झर्ने अपेक्षा गरिएको छ ।
    श्रेष्ठका अनुसारे कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएकामा गत चैतसम्म १२ अर्ब ६ करोड रुपैयाँ खर्च भइसकेको छ । शतप्रतिशत स्वदेशी लगानीमा निर्माण भइरहेको यस आयोजनामा ७० प्रतिशत ऋण रकममा कर्मचारी सञ्चयकोषको १० अर्ब ऋण तथा डिभेञ्चर २ अर्ब, नेपाल टेलिकमको ६ अर्ब रुपैयाँ, राष्ट्रिय बिमा संस्थान २ अर्ब, नागरिक लगानीकोषको २ अर्ब र नेपाल सरकारले नपुग ऋण ११ अर्ब ८ करोड रुपैयाँ रहने श्रेष्ठले जानकारी दिए ।
    हालसम्म कम्पनीले नेपाल विद्युत् प्राधिकरण, टेलिकम, बिमा संस्थान तथा नागरिक लगानीकोष समेतले संस्थागत सेयरधनीबापत प्राप्त हुनुपर्ने रकममध्ये ५ अर्ब १० करोड प्राप्त गरिसकेको श्रेष्ठले जानकारी दिए । बाँकी ३० करोड रकम सेयर निष्कासन गर्नुपूर्व उपलब्ध हुने पनि उनले बताए । यो रकममध्ये ३० प्रतिशत रकम सेयर पुँजीबाट तथा बाँकी ७० प्रतिशत रकम ऋणबाट उपलब्ध हुने श्रेष्ठले जानकारी दिए ।
    आयोजनाले प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार आव २०६७–६८ मा औसतदर प्रतियुनिट ३ रुपैयाँ ५० पैसा, व्यापारिक उत्पादन भएको वर्ष ४ रुपैयाँ र त्यसपछि ९ वर्षसम्म वार्षिक वृद्धि भई सम्झौता अवधिभर खरिद बिक्रीदर ५ रुपैयाँ ३० पैसा हुने पनि श्रेष्ठले बताए । प्रतियुनिट चार रुपैयाँ विद्युत् बिक्री गर्दा पनि कम्पनीलाई वार्षिक ८ देखि १० अर्ब रुपैयाँसम्म वार्षिक आम्दानी हुने उनले जानकारी दिए ।
    यही आयोजनाअन्तर्गत दोस्रो चरणमा ६ किलोमिटर सुरुङ निर्माण गरी रोल्वालिङ खोलाको पानीबाट थप करिब १७ करोड युनिट उर्जा उतपादन गर्ने लक्ष्यसमेत लिइएको छ ।
    तस्बीर पनि छ है

    प्रस्तुति: कारोबर