मध्यभोटेकाशी आयोजना – मङ्सिरदेखि सिभिल निर्माणको काम

    2769

    साउन २६, मामिङ (सिन्धुपाञ्चोक) ।

    MBKचिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण हुन लागेको १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको सिभिल निर्माण कार्य मङ्सिरदेखि शुरू हुने भएको छ । आयोजनाको अन्तरराष्ट्रिय परामर्शदाता चयन गर्ने काम अन्तिम चरणमा पुगेको मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रोजेक्ट मेनेजर प्रकाश अवस्थीले अभियानलाई बताए । उनले भने, ‘दुई महीनाभित्र परार्शदाता चयन गरी सिभिल निर्माण थाल्ने छौं ।’ आयोजनाको निर्माण कार्य ईपीसी (इञ्जिनीयरिङ, प्रोक्युरमेण्ट एण्ड कन्ष्ट्रक्शन)को अवधारणाअनुसार गर्ने निर्णय भइसकेको अवस्थीले बताए ।

    आयोजना  निर्माणका लागि आवश्यक पूर्वतयारी पूरा भइसकेको कम्पनीले जानकारी दिएको छ ।  आयोजना २०७३ सालको मङ्सिर–पुससम्ममा पूरा गरिने लक्ष्य रहेको छ । अवस्थीले लक्षित कार्ययोजनाअनुसार नै आयोजनाको काम अघि बढिरहेको बताए । आयोजना निर्माणमा स्थानीयवासीबाट बाधा व्यवधान नभएको उनले दाबी गरे । मध्य भोटेकोशी जलविद्युत् कम्पनीका वातावरण, संस्थागत दायित्व तथा जनसम्पर्क विभाग प्रमुख हरिकृष्ण उप्रेतीले तल्लो तटीय क्षेत्रमा रहेका जलचर र वातावरणलाई सन्तुलन राख्न १० प्रतिशत पानी छाडिने जानकारी दिए । उनले आयोजनाले वातावरणमा प्रतिकूल असर नपुर्‍याउने दाबीसमेत गरे ।

    आयोजनाको निर्माणमा कुल (निर्माण अवधिको ब्याजसहित) करीब साढे १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि आवश्यक जग्गा खरीद गरिसकिएको अवस्थीले बताए । ‘आयोजनाबाट ५४ करोड २३ लाख युनिट वार्षिक विक्रीयोग्य विद्युत् उत्पादन हुनेछ,’ उनले भने, ‘आयोजना क्यु ४० डिजाइनअनुसार निर्माण गरिने छ ।’ आयोजनाका लागि करीब ७ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने बताइएको छ ।

    कम्पनीले आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गरिसकेको छ । आयोजना निर्माणका लागि संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर लगानी रहने छ । संस्थापकतर्फका शेयरमध्ये चिलिमे जलविद्युत् कम्पनीको ३५, नेपाल विद्युत् प्राधिकरणको १०, सिन्धुपाञ्चोक जिविस र सम्बन्धित गाविसको ३, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेड, सिन्धु इन्भेष्ट्रमेष्ट प्रालि र सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको १/१ प्रतिशत शेयर रहनेछ । सर्वसाधारणतर्फ भने प्रवर्द्धक तथा आयोजनामा ऋण लगानी गर्ने कम्पनीका कर्मचारीको साढे ४, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको साढे १९, स्थानीय जनताको १० र सर्वसाधारणको १५ प्रतिशत शेयर रहने भएको छ । चिलिमे जलविद्यतु् कम्पनी, कर्मचारी सञ्चयकोष र मध्य भोटेकोशी जलविद्युत् कम्पनीबीच ऋण लिनेदिने सम्बन्धमा २०६८ मङ्सिर २२ गते त्रिपक्षीय सम्झौता भइसकेको छ । साथै, मध्य भोटेकोशी कम्पनी र प्राधिकरणबीच विद्युत् खरीद सम्झौता (पीपीए) भइसकेको छ ।

    आयोजनाको वातावरण प्रभाव मूल्याङ्कनको प्रतिवेदन मन्त्रालयमा पेश गरिसकिएको कम्पनीले बताएको छ । अवस्थीले विद्युत् उत्पादन अनुमतिका लागि मन्त्रालयमा निवेदन दिइसकिएको पनि बताए । नदी प्रवाहमा आधारित आयोजनाबाट उत्पादित विद्युत् ४ किलोमिटर टाढा रहेको बाह्रबीसे सबस्टेशनमा ल्याई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

    Source : Abhiyan