बूढीगण्डकी जलासययुक्त आयोजना : चीन भ्रमणकै बेला भएको थियो सहमति

    1275

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकै बेला बूढीगण्डकी जलासययुक्त आयोजना चिनियाँ लगानीमा बनाउने विषयमा सैद्धान्तिक सहमति भएको खुलेको छ ।

    नेपालको ऊर्जा संकट दीर्घकालिन रुपमा समधान गर्न चिनियाँ लगानीमा एउटा आयोजना बनाउने विषयमा सहमति भएपछि चीन सरकार स्वामित्वको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) ले एक महिना अघि नै ऊर्जा मन्त्रालयमा आशयपत्र पेश गरेको हो । 

    गत चैत ७ गते प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । “नेपालको ऊर्जा संकट समधान गर्न कुनै एउटा ठुलो आयोजना बनाइदिने विषयमा दुबै देशका प्रधानमन्त्रीबीच छलफल चलेपछि नेपालको तर्फबाट बूढीगण्डकी आयोजना प्रस्ताव गरिएको थियो,” ऊर्जा स्रोतले भन्यो “सोही आधारमा सीजीजीसीले आयोजना बनाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले चासो देखाउनु भएको हो ।” 

    भ्रमणका क्रममा धेरै आयोजनामा छलफल भए पनि तत्काल तयारी (रेडी टु गो ) अवस्थामा बुढीगण्डकी मात्र देखिएपछि प्रधानमन्त्री ओलीको अनुरोधमा सीजीजीसीले प्रस्ताव गरेको ऊर्जा स्रोतको भनाई छ ।

    आयोजनमा बनाउने विषयमा प्रधानमन्त्री ओली र उच्च अधिकारीबीच सीजीजीसीको मुख्यालयमा समेत छलफल भएको थियो । 

    आयोजना विस्तृत डिजाइन, निर्माण र लगानी समेत हुने गरी (इपीसीएफ) प्रारूपमा बनाउन उसले ऊर्जा मन्त्रालयमा आशयपत्र पेश गरेको छ । 

    सीजीजीसीको प्रस्ताव ऊर्जाले अध्ययन गरिरहेको निमित्त सचिव दिनेशकुमार घिमिरेले बताए । सीजीजीसीको आर्थिक एवम् प्राविधिक क्षमता बुझ्न अर्थ मन्त्रालयमार्फत नेपालस्थित चिनियाँ दुतावासलाई पत्राचार गरिएको उनले जानकारी दिए । “चिनियाँ दुतावासबाट जानकारी प्राप्त भएपछि आयोजनाको विषयमा निर्णय हुनेछ,” उनले भने “अहिले प्रारम्भीक अवस्थामा रहेकाले कुनै निर्णय भएको छैन । उसले इपीसीएफ प्रारूपमा आयोजना बनाउने भन्ने आशयपत्र मात्र पेश गरेको हो ।” 

    परामर्शदाता फ्रान्सको ट्रयाक्टवेल इन्जिनियरिङले तय गरेको लागतमा बुढीगण्डकी बनाउने र परामर्शदाताले नै निर्धारण गरेको दरमा विद्युत् खरिदविक्रि सम्झौता (पीपीए) गर्ने विषयमा अनौपचारिक सहमति भएको बुझिएको छ । आयोजनालाई आवश्यक लगानी स्वयम् सीजीजीसीले जुटाउने प्रस्तावमा उल्लेख छ । 

    ट्रयाक्टवेलले बूढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाएपछि हाल सरकारले जग्गा अधिग्रहण र मुआब्जा वितरणको प्रक्रिया सुरू गरेको छ । डीपीआर अनुसार आयोजनाको मुल बाँधको उचाई २६३ मीटर हुनेछ । बाँधको आकार डबल आर्क ग्राभिटी रहने परामर्शदाताले तयार पारेको विस्तृत इन्जिनियरिङले देखाएको छ । जलासय क्षेत्रमा ६३ वर्गकिलोमिटर लामो ताल बन्नेछ । आयोजना सम्पन्न गर्न २ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २१ करोड २५ लाख रुपैयाँ पर्ने देखिएको छ । यस्तै बिजुली उत्पादन लागत प्रतियुनिट ७ रुपैयाँ ३५ पैसा छ ।

    सरकारले गत फागुनमा ल्याएको ऊर्जा संकट निवारण तथा १० वर्षे विद्युत विकास कार्ययोजनामा समेत बूढीगण्डकी इपीसीएफ प्रारूपमा बनाउने उल्लेख छ । 

    सीजीजीसी चीनको हुवान प्रान्तस्थित इचाङमा विश्वको सबैभन्दा ठुला साढे २२ हजार ५ सय मेगावाटको थ्री गर्जेज जलासययुक्त आयोजनाको ६५ प्रतिशत काम गरेको थियो । सीजीजीसीले ३० मेगावाटको चमेलिया र ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजना निर्माण गरे पनि सन्तोषजनक ढंगले काम अघि बढन सकेको छैन । गत वर्ष नेपाल विद्यत प्राधिकरणले प्रस्तावित १८० मेगावाटको जलासययुक्त अयोजना सीजीजीसीलाई दिने निर्णय गरे पनि प्रक्रिया अवरुद्ध छ । एक वर्ष बितिसक्दा पनि आयोजना अघि बढेको छैन । 

    स्रोत : १२  खरी