बुढीगण्डकी प्रभावितलाई मुआब्जा रकम वितरण सुरु

    1314

    गोरखा/बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितलाई रकम वितरण थालिएको छ । प्रभावितका लागि बिहीबारदेखि खातामा रकम निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । राष्ट्रिय वाणिज्य बैंकमा शून्य मौज्दातमा खाता खोली रकम वितरण गरिएको हो ।

    ३२ जनाले पाए रकम
    ३२ जनाको खातामा रकम वितरण भएको शर्माले बताए । पहिलोपटक घ्याल्चोकका १२ र दर्बुङका २० जनाको रकम निकासा भएको हो । ‘३२ जनालाई वितरण गर्न ४ करोड ७२ लाख ७८ हजार ५ सय २१ रुपैयाँ निकासा गर्‍यौँ,’ शर्माले भने ।

    साढे दुई अर्ब वितरण गरिँदै
    प्रभावितलाई वितरण गर्न दुई अर्ब ५० करोड रुपैयाँ जिल्ला प्रशासनमा आएको छ । आयोजनाका कारण जिल्लाका १४ गाविस डुबानमा पर्नेछन् । तीमध्ये पहिलो चरणमा घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसमा मुआब्जा वितरण गर्न लागिएको हो  । घ्याल्चोकका १२ जनाको १९ हजार पाँच सय २४ वर्गमिटर र दर्बुङको २० जनाको १८ हजार सात सय ५१.८३ वर्गमिटर जग्गाको रकम निकासा भएको जिल्ला प्रशासनले जनाएको छ ।

    एक लाखदेखि ८० लाखसम्म
    ‘अहिले निकासा भएको रकम जग्गाका आधारमा एकजनाले एक लाखदेखि ८० लाखसम्म पाउँछन्,’ शर्माले भने । मुआब्जा रकम माग गर्दै प्रभावित क्षेत्रका ७ सय जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

    ‘९६ जनाको शून्य मौज्दातमा खाता पनि खोलिसकिएको छ,’ शर्माले भने । बुढीगण्डकी जलविद्युत् आयोजनाको घ्याल्चोकस्थित कार्यालयले जग्गाको अन्तिम रुजु गरेपछि रकम निकासा हुने शर्माको भनाइ छ ।

    जग्गाको मुआब्जा दिएपछि आयोजनाको स्वामित्वमा जाने
    ‘जग्गाको अन्तिम रुजु सकिएपछि रकम निकासा हुन्छ,’ शर्माले भने । मुआब्जा वितरणसँगै जग्गा अब बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिको नाममा हुनेछ ।

    ३२ जना प्रभावितको खातामा रकम गएको र अन्यलाई क्रमशः वितरण गर्दै जाने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘मुआब्जा माग गर्दै निवेदन दिएका जग्गाधनीको पुर्जा प्रमाणीकरण र लगत कट्टाको काम सकिनेबित्तिकै रकम निकासा गरिहाल्छौँ,’ शर्माले भने ।

    १२ सय प्रभावितलाई पहिलो चरणमा रकम
    पहिलो चरणमा रकम वितरण गर्न लागिएको घ्याल्चोक, दर्बुङ र भुम्लिचोक गाविसमा करिब १२ सय प्रभावित छन् । जिल्ला मुआब्जा निर्धारण समितिले बुढीगण्डकीको जग्गालाई ११ भागमा वर्गीकरण गरी प्रतिरोपनी पाँच लाख २५ हजारदेखि आठ लाख ३५ हजारसम्म मुआब्जा निर्धारण यसअघि नै गरिसकेको छ।

    आठ हजारको जग्गा अधिग्रहण गरिने
    आयोजनाका लागि धादिङ र गोरखाका करिब आठ हजार बासिन्दाको जग्गा अधिग्रहण गर्नुपर्नेछ । १२ सय मेगावाटको आयोजना निर्माणका लागि  पहिलो चरणमा गोरखाबाट मुआब्जा रकम वितरण थालिएको हो ।

    स्रोत:नयाँपत्रीका