बंगलादेशले सोध्यो–विद्युतमा लगानी सम्बन्धी हाम्रो प्रस्ताव तीन वर्षसम्म किन लुकाइयो ?

    2089

    काठमाडौं । बिजुली खरिदविक्रि र लगानीका विषयमा बंगलादेशले ३ वर्षअघि पठाएको समझदारीपत्र (एमओयु) को मस्यौदा ऊर्जा मन्त्रालयका उच्च अधिकारीले लुकाएको पत्ता लागेको छ ।

    ३ वर्षअघि नेपाल र बंगलादेशबीच ढाकामा भएको वार्तापछि विद्युत् खरिदविक्रि र जलविद्युतमा लगानी गर्नका लागि एमओयु गर्ने सहमतिबमोजिम बंगलादेशले मस्यौदा तयार पारेर ऊर्जा मन्त्रालयमा पठाएको थियो । मस्यौदाको विषयमा नेपालले न कुनै प्रतिक्रिया नै दियो नत प्रक्रिया नै अघि बढायो ।

    बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदले ऊर्जामन्त्री जनार्दन शर्मालाई अघिल्लो साता यसरबारेमा सोधेपछि उर्जा मन्त्रालयमा नै यो मस्यौदा लुकाइएको खुलासा भएको हो ।

    “हामीले बिजुली किन्ने र लगानी गर्ने समझदारपत्रको मस्यौदा पठाएका थियौँ खोई ?,”बंगलादेशकी प्रधानमन्त्री हसिनाले जिज्ञासा राखेपछि ऊर्जामन्त्री शर्मा अकमकिएर सहसचिव दिनेशकुमार घिमिरेलाई सोधे, उनले पनि मस्यौदा आएको तर तत्कालिन सचिवले के गर्नुभयो थाहा भएन भनेर पन्छिए ।

    त्यसबेला गम्भीर ऊर्जा संकट भोगिरहेको बंगलादेशले नेपालबाट ४ हजार ५ सय मेगावाट बिजुली किन्ने र ऊर्जा विकासमा बंगलादेशले १ अर्ब डलर लगानी गर्ने आशय व्यक्त गरेको थियो । सोही आसयलाई मुर्त रुप दिन एमओयुको तयारी भएको थियो । उसले मस्यौदा पठाए पनि नेपालले चासो नदिएपछि प्रक्रिया रोकिएको थियो ।

    मन्त्री शर्माले गत मंगलबारदेखि शुक्रबारसम्म बंगलादेशको भ्रमण गरेका थिए ।

    तत्कालिन ऊर्जा सचिव तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजेन्द्रकिशोर क्षेत्रीको पालादेखि सो प्रस्ताव मन्त्रालयमा अडिएको पत्ता लागेको ऊर्जा मन्त्रालय स्रोतले बतायो । उर्जामन्त्री शर्माले जसरी पनि बंगलादेशले पठाएको मस्यौदा खोज्न निर्देशन दिएपछि भेटिएको पाइएको स्रोतको भनाई छ ।

    ऊर्जामन्त्री शर्मासँगको भेटमा बंगलादेशका अधिकारीले संयुक्त रुपमा ऊर्जामा लगानी गर्न तयार रहेको बताएका छन् ।

    प्रधानमन्त्री हसिनाले त्यहाँका ऊर्जाराज्यमन्त्री नसरुल हमिदलाइ समेत राखेर नेपालको ऊर्जामा संयुक्त लगानीको विषयमा विभिन्न उपायहरुको खोजी गर्न निर्देशन दिएकी थिइन् ।

    सार्क इलेक्ट्रिसिटी फ्रेमवर्क एग्रिमेन्टले नेपाल, भारत र बंगलादेशबीच विद्युत् व्यापार खुला गरेको छ ।

    बंगलादेशसँग एमओयु गर्न अर्थ र कानुन मन्त्रालयले स्वीकृति दिइसकेका छन् । एमओयुको प्रक्रिया अघि बढाउन केही दिनभित्रै बंगलादेशका ऊर्जाराज्यमन्त्री नसरुल नेपाल आउने भएका छन् ।

    स्रोत: बाह्रखरी